
म्याग्दी, ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति कार्य सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाडा छ किलोमिटर दुरीमा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्ने काम सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले योजनाको अन्तिम भुक्तानी र छिटपुट मर्मत बाहेकका सबै काम सकिएको जानकारी दिनुभयो । निर्धारित समयमै योजना सम्पन्न भएको उहाँले बताउनुभयो ।

वि.स. २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु. १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको थियो । ताकम र शिवाङ खण्डमा नौ सय मिटर प्रिमिक्स प्रबिधीको कायोपत्र भएको छ ।


गौथली भिर लगायतका ठाउँमा एक हजार सात सय मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ । यो सडक यसअघि चार देखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेल मात्र भएको तीन किलोमिटर भन्दा बढी दुरीको सडकलाई पनि कालोपत्र गर्न पहल गरेको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो ।
“मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाको लागि सकारात्मक उपलब्धी हो,” उहाँले भन्नुभयो “बजेटको कमीका कारणले कालोपत्र हुन नसकेको ठाउँका सडकलाई पनि कालोपत्र गराउनका लागि प्रदेश सरकारसँग पहल भएको छ ।” धारापानीमा वि.स. २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।
यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न रु. ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माणाधिन रहेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।
२०८२ असार महिनामा सम्झौता भएको यस योजनाको ठेक्का अवधी २७ महिनाको रहेको छ । म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताउनुभयो ।
धवलागिरीको केन्द्र मुना देखि खोरीया, मरेनी, जलजला, ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेको थियो ।

