भंकासेमा आरोग्य पर्यटनको सम्भावना

Gandaki Ghumau

बेनी ः पहाडको उच्च स्थानमा समथर टापु । चारै तिरको भिरालो पाखामा घना जंगल । वस्ति देखि टाढा र एकान्त ठाउँ । पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङखलाहरु । शान्त वातावरण । चराचुरुङ्गीहरुको चिरचिर आवाज ।

परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे ओझेलमा परेको छ । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिक रुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।

पात्लेखेतको वाखेत टोलको शिरमा समुन्द्रि सतहदेखि करिब दुई हजार छ सय मिटर उचाईमा अवस्थित भंकासे ओझेलमा परेको वाखेतका स्थानीय लोकबहादुर पुनले बताउनुभयो । “पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहने गएको किम्बदन्ती छ,” उहाँले भन्नुभयो “प्रचारप्रसार, पूर्वाधार र खोज अनुसन्धानको अभावका कारण भंकासे स्थानीय स्तरमै सिमित भएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ रहेको छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्य ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयबासीहरुको भनाई छ ।

भंकासे देखि करिब दुई सय मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनीहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वि रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ती र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिनुभयो ।
भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेत देखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगंगा, मंगाल गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल टोड्के देखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणा अनुसार धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडा अध्यक्ष मसबिर रोकाले बताउनुभयो । वाखेत देखि सिद्धथान हुदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिदै ऐतिहाँसिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुहरु मार्फत खोज अनुसन्धान थालिएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...