
बेनी, ः गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको रणनीतिक महत्व बोकेको बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा विनियोजन गरिएको बजेट अत्यन्त न्यून रहेको भन्दै बजेट थप गरी निर्माण कार्यलाई निरन्तरता दिन प्रदेश सरकारसँग माग गर्नुभएको छ ।
आइतबार गण्डकी प्रदेशसभाको बजेटमाथिको छलफलमा भाग लिँदै म्याग्दी निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पटक–पटक स्थलगत अवलोकन गरी प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको योजनामा जनअपेक्षाअनुसार पर्याप्त बजेट नछुट्याइएको बताउनुभयो ।
छलफलका क्रममा सांसद भण्डारीले व्यंग्यात्मक शैलीमा मुख्यमन्त्री पाण्डेलाई सम्बोधन गर्दै “दश लाख रुपैयाँ विनियोजन भएको योजनामा दुई वटा शून्य थपेर दश करोड बनाइदिनुहोस” भन्ने आग्रह गर्नुभएको थियो । उक्त अभिव्यक्तिपछि मुख्यमन्त्री पाण्डे र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीबीच कानेखुसी भएको दृश्य प्रदेशसभा बैठकको प्रत्यक्ष प्रसारणमा समेत देखिएको थियो ।


म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा आर्थिक वर्ष २०८०÷०८१ देखि बेनी–पाखापानी सडक स्तरोन्नतिको काम सुरु गरेको थियो । सो योजनाअन्तर्गत भुतादैला–नेप्टेचौर खण्डमा दुई किलोमिटर सडक कालोपत्र गरिएको छ भने नेप्टेचौर–तोरीपानी खण्डमा हालै ग्राभेल गरिएको छ ।
राहुघाट करिडोरअन्तर्गत पर्ने उक्त सडकले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका विभिन्न बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने रणनीतिक महत्व बोकेको छ । तर आगामी आर्थिक वर्षका लागि संघीय सरकारले कुनै बजेट विनियोजन नगरेको र प्रदेश सरकारले पनि अत्यन्त न्यून बजेट छुट्याएको भन्दै स्थानीयवासी देखि जनप्रतिनिधीहरुले सडकलाई उपेक्षा गरिएको आरोप लगाएका छन् ।
सांसद भण्डारीले सडकको बाँकी स्तरोन्नति कार्य समयमै सम्पन्न गर्न आवश्यक बजेट थप गरी योजनालाई निरन्तरता दिन प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।

