
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण भएको छ ।
धवलागिरी गाउँपालिका–७ धारापानीका स्व. लोकबहादुर थापा र आमा चन्द्रकली थापाको नाममा उहाँका सन्तानले स्थापना गरेको चन्द्र–लोक शैक्षिक कोष मार्फत जेहेन्दार, विपन्न र अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
प्रति विद्यार्थी रु. सात सय २० मूल्य बराबरको छ वटा कापी र छ वटा कलमका दरले तीन सय १० जनालाई रु. दुई लाख २३ हजार दुई सय मूल्य बराबरको शैक्षिक सामग्री सहयोग गरेको कोषका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।



जनकल्याण मावि गुर्जा, लमसुङ मावि, धवलागिरी मावि मुना, धनजनता मावि फलियागाउँ, वुद्धिविकास मावि मुदी, चन्द्रज्योती मावि खिवाङ, जनजागृति मावि मल्कवाङ, जनविकास मावि मराङ, किसानी चन्द्रकुन्ता मावि धारापानी, ताकम मावि र हेम नमुना आवासीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कक्षा १ देखि १० सम्म वार्षिक परिक्षामा प्रथम भएका, विद्यालयले सिफारिस गरेका विपन्न र अनाथ विद्यार्थी छनौट गरेर पठनपाठनमा सहजताका लागि शैक्षिक सामग्री वितरण गरेको थापाले बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहनुभएका थापाले कोष मार्फत चार वर्षदेखि धवलागिरी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आउनुभएको छ ।

