
बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघले सोमबार बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।
संघको १५ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको हो । २६ जना विद्यार्थीहरुलाई करिब रु. १५ हजार मूल्य बराबरको शैक्षिक र खेलकुदका सामग्री वितरण गरिएको संघका महासचिव हेमन्त बानियाले जानकारी दिनुभयो ।

धौलागिरी अधिकृत बिक्रेता संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता, नेपाल वितरक महासंघका गण्डकी प्रदेश अध्यक्ष बद्री ढुंगानाको प्रमुख आतिथ्यता र म्याग्दी संयोजक जगन्नाथ शर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सरस्वति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटा र प्रअ युवराज शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

वि.स. २०६७ पुष २९ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको धौलागिरि अधिकृत बिक्रेता संघले साधारण सदस्यहरुलाई अप्ठ्यारोमा सघाउनुका साथै प्राकृतिक प्रकोप, कोरोना महामारीको समयमा आर्थिक सहायता समेत उपलब्ध गराएको थियो । संघमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुद्धारा उत्पादित बस्तुहरु बिक्री तथा आपुर्तिकर्ताहरु आवद्ध छन् ।
