बेनी, ः म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा सोमबारदेखि काब्य यात्रा शुरु भएको छ ।
करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ जना कबी, लेखक, पत्रकार र पर्यटनकर्मीहरु सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् ।
बेनी देखि करबाकेली हुदै पुनहिल पुगेर चार दिनमा काब्य यात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी दिनुभयो । “साहित्यको माध्यमबाट यो ठाउँको प्रचारप्रसारका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काब्य यात्रा आयोजना गरिएको हो,” उहाँले “यहाँको प्रकृति, संस्कृति र जिवनशैलीलाई साहित्य मार्फत उजागर गर्ने पनि उद्देश्य रहेको छ ।”
काब्य यात्रामा प्रगति, राई, प्रभा बराल, कुमारी लामा, अभय श्रेष्ठ, हेमन्त विवस, सागर उदास, रञ्जन राज भण्डारी, घनश्याम पौडेल, तारानाथ पहाडी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार र सुरेन्द्र राना सहभागि हुनुभएको छ ।
बेनीबाट मल्लाज बाँसखर्क महभिर हुदै टोली आज करबाकेली पुगेको छ । यात्राको क्रममा स्थलगत रुपमा रचना तयार पार्ने र सोही स्थानमा प्रस्तुत गरिने यात्रामा सहभागि हुन तनहुँबाट आउनुभएका गितकार सागर उदासले बताउनुभयो ।
“स्थलगत रुपमा करबाकेली क्षेत्रको बारेमा रचना बाचन गर्नुका साथै यात्रा अनुभुति, कथा, कविता, आलेख संकलन पनि हुनेछ,” उहाँले भन्नुभयो “खप्तड, फोक्सुण्डो र तनहुँको आमस्वाँरा होमस्टेको काब्ययात्रा फलदायी बनेको थियो ।”
टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले बिदाई गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका–८ काफलडाडा स्थित पुन समुदायको कुल देवता करबाकेलीको थान रहेको करबाकेलीलाई केन्द्रित गरेर वि.स. २०७५ मा करवाकेली इको पदमार्ग सञ्चालन भएको थियो ।
कास्कीको वीरेढाँटी, तिखेढुंगा, उल्लेरी, घोडेपानी र करवाकेली थानहुँदै बेनी लाई समेटेको यो पदमार्गमा चार दिनको यात्रा गर्न सकिन्छ । पुनको कला संस्कृति हेर्न र संसारकै ठूलो गुराँसे जंगलको यात्रा गर्न यो पदमार्ग उत्तम छ ।
करबाकेली पदमार्गको अधिकांश क्षेत्र अन्नपूर्ण पदमार्ग र बाँकी क्षेत्र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेट्ने भएपनि पुनहिलबाट परम्परागत मार्ग छाडेर करवाकेली थान हुँदै बेनी पुग्न सकिने गोठालो मार्गलाई विकसित गरिएको छ । पदमार्गमा घर, गोठमा प्रयोग हुने घरायसी सामाग्री, भेषभुषा, संस्कार र संस्कृति झल्कने सामाग्री संकलन गरी काफलडाडामा करबाकेली संग्रहालय स्थापना गरिएको छ ।