धौलागिरि खबर

जो बिदेशको जागिर छोडेर जंगलमा भेडापालनमा ब्यस्त छन्

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गर्नुभयो ।
युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र संघर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुगेका हुन् ।
‘वर्षौं विदेशमा बसें, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैंभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जंगलको गोठको दैनिकीलाई रोजेको हुँ’, उहाँले भन्नुभयो ।
भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरू गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन् । घरमा पुख्यौली रूपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब रु सात लाख बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताउनुभयो ।
पाँच वर्षदेखि भेडापालन गर्दै आएका उहाँले वनजङ्गलमा घुम्ती गोठ राख्नुहुन्छ । भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउने उहाँले उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको अनुभव सुनाउनुभयो ।
उहाका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गरेका छन् । प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पसेका छन्त्यालले आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा खुसीको महसुस हुने गरेको बताउनुभयो ।
‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिए, तर आजभोलि सामान्य लाग्छ’, उहाँले भन्नुभयो ।
पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गर्नुभएको छ । रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किएका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरू गर्नुभएको थियो ।
भेडापालन थालेको पाँच वर्षमा उहाँको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ । हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हुँदै आएका छन् । एक सयको हाराहारीमा वार्षिकरूपमा भेडा गोठमा थपिन्छन् ।
‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्न अभिप्रायले भेडापालन थालेको हुँ, अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन भेडीगोठ तर आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु’, गर्बुजाले भन्नुभयो ।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ । खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ । गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ ।
यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाला जीवन सुरू गर्नुभएको हो । मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्केका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन थाल्नुभएको थियो ।
‘अरुको देशमा धेरै पसिना बगाए, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ, अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु’, पुनले भन्नुभयो ।
उहाँले अहिले भेडापालनबाटै परिवारको जीविकोपार्जन गर्नुभएको छ । सात वर्षदेखि भेडापालन गर्दै आएका उहाले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको संख्या बढाउन लगानी गर्दै आउनुभएको छ । उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन उहाँलाई ।
भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन् । चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाइ छ ।
‘सहरको जस्तो सुखसयल त यहाँ छैन, तर आफ्नै ठाउँमा ढिडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु’, उहाँले भन्नुभयो ।
पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए । बुवाको पालामा छाडेको भेडापालनलाई पुनःसुरू गरेका पुनलाई उनका घरपरिवारले राम्रो साथ र सहयोग दिएका छन् । छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाइ छ । गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बेंसीका फाँटसम्म झार्ने गरिन्छ । म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...