किन थुनिन्छन् म्याग्दीका नदी ? कारण यस्तो छ

Gandaki Pardesh notice

बेनी । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहिबार थुनिएको म्याग्दीको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाई र १० मिटर गहिरो तलाउ बनेको छ ।

तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगंगा नदी पुरानै स्वरुपमा बगेपनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत साउन ८ गते धवलागिरी गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिदा बनेको तलाउ अझै छ । रघुगंगा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

Shreekrishna hardwear in news

कालीगण्डकी, म्याग्दी र रघुगंगा जलाधार क्षेत्रमा बिभाजित म्याग्दीमा बर्षेनी पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । म्याग्दी समेत कार्यक्षेत्र भएको भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्बतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउनुहुन्छ ।

“खोला भन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ,” उहाँले भन्नुभयो “अत्याधिक बर्षा, भूकम्प, बिकास निर्माण जस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भइ गहिरिएका खोला थुनिएका हुन् ।”

म्याग्दीमा बर्खा र हिउँद याम दुबै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहाँस छ । बर्खामा बर्षातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफै पनि सुख्खा पहिरो गएको एक दशक भन्दा बढी समय म्याग्दीमा बसेर काम गर्नुभएका भू–संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।

बि.स. २०७२ जेठमा बैसरी, २०५६ असोजमा भुरुङ्ग–तातोपानी, २०४५ असोजमा छ्यारछ्यारे, २०४२ मा दाना, २०७३ मा बेगखोला, २०६८ मा पाखापानीको औल, २०७५ मा मराङखोला र रघुगंगा, २०७७ मा अन्नपूर्णको रुप्से, मंगलाको हिलवाङखोला थुनिदाँ ठूलो जनधनको क्षति भएको थियो ।

Bhautik ministry notice about road

भूकम्पले चर्किएको अन्नपूर्ण गाउँपालिकाको काफलडाडाँ स्थित पहाड सहित खसेको पहिरोले ३० घरधुरीको बसोबास भएको रघुगंगा गाउँपालिकाको बैसरी पुरिनुका साथै कालीगण्डकी नदी १८ घण्टा थुनिएको थियो । म्याग्दी नदीलाई करिब एक घण्टा थुनेको र सिंगो बस्तीनै पुरेको छ्यारछ्यारेको पहिरोले १०४ जनाको ज्यान लिएको थियो ।

बेगखोला थुनिएर आएको बाढीले बि.स. २०७३ भदौमा एक जना मानिस, ११ वटा घर, झोलुङ्गे पुल र बेनी–जोमसोम सडकको बेलिब्रिज बगाएको थियो । मालिका गाउँपालिकाको रितुङ, रघुगंगाको घारखोला, अन्नपूर्णको निलगिरी, घलेम्दी, दोवाखोला पनि थुनिने गर्छन् । कमजोर भूबनोट र भिरालो जमिन भएको ठाउँमा जलबिद्युत आयोजना निर्माणका लागि गरिएको बलास्टिङ र सडक निर्माणका क्रममा डोजर चलाउँदा हुने कम्पनले जमिनलाई हलचल गराएको छ ।

म्याग्दीका अधिकांश बस्ती नदीको तटीय क्षेत्र र पहाडको शिरमा छन् । सहायक नदीमा आउने बाढी म्याग्दी र कालीगण्डकी नदीमा मिसिन्छ । २०७५ भदौ अन्तिममा बगरखोला भन्ने ठाउँमा खसेको पहिरोका कारण राहुघाट नदी थुनिएर आएको बाढीले झोलुङ्गे पुल, घ्याँसीखर्कको रितुङ माबिको भवन, केही घर, गलेश्वर र बेनी बजार संरक्षणका लागि निर्माण भएको तटबन्ध बगाएको थियो ।

२०७७ को साउनमा अन्नपूर्णको दाना स्थित रुप्से खोलामा पहिरो खसेपछि आएको बाढीले रुप्सेको एउटा रिसोर्ट, एक वटा एक्साभेटर, बस बगाउनुका साथै निर्माणाधिन मोटरेबल पुल, पर्यटकीय स्थल रुप्से झरना र संसारकै गहिरो अन्धगल्छीलाई तहसनहस पारेको थियो ।

सदरमुकाम बेनी, मालिकाको दरबाङ, मंगलाको बाबियाचौर, सिंगा, भूरुङ्ग तातोपानी, पोखरेबगर, तिप्ल्याङ, घुमाउने ताल, राहुघाट, घ्याँसीखर्कका बस्तीमा बर्षेनी कटान हुने गरेको छ । बस्तीसँगै जलबिद्युत आयोजनाका बाँध, सिचाई आयोजनाका नहर, सडक, मोटरेबल पुल र झोलुङ्गे पुलमा बाढीले क्षति गरेको छ ।

भू–तथा जलाधार संरक्षण कार्यलय पर्वतको बेनी स्थित सम्पर्क इकाईका प्रमुख सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रले संरक्षण र वातावरणमैत्री बिकास, तटीय क्षेत्रमा नदी नियन्त्रणका लागि संरचना निर्माण र सुरक्षित ठाउँमा बस्ती बिकास गर्नुपर्ने बताउनुहुन्छ ।

“भिरालो जमिन भएको र नदी किनारको तटीय क्षेत्रको बस्ती जोखिममा छन,” उहाँले भन्नुभयो “जोखिमयुक्त ठाउँमा तटबन्ध गरि नदी नियन्त्रणका साथै बिकास निर्माणका कामलाई ब्यवस्थित र वातावरणमैत्री बनाउन आवश्यक छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...