धौलागिरि खबर

आयोजना निर्माण कार्यमा स्थानीय कामदारको न्युन सहभागीता

राम कुमार खड्का
वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा स्थानीयहरुलाई रोजगारीको लागि प्राथमिकता दिने भन्ने उल्लेख भएता पनि कुनै पनि आयोजनामा स्थानीयहरुको कम सहभागीता भएको देखिन्छ । स्थानीय स्तरमा उठ्ने गरेको मुद्वा मध्ये स्थानीयहरुले रोजगारी नपाएको विषय प्रमुख हो । यो जुनसुकै आयोजना निर्माणको क्रममा सर्वत्र उठ्ने गरेको मुद्वा हो । एकातिर जलविद्युत आयोजनाले रोजगारीको लागि स्थानीयहरुको माग भएतापनि रोजगारदाता कम्पनीको दररेटमा काम गर्न इच्छुक नभएको तथा कम्पनीलाई आबश्यक पर्ने दक्ष कामदार प्राप्त नभएको अनौपचारिक रुपमा बताएको छ । अर्को तर्फ स्थानीयहरुले भने रोजगारदाता कम्पनीले अन्यत्रबाट सस्तोमा कामदार ल्याएर लगाएको तर स्थानीयलाई कुनै अबसर नदिएको भन्ने सुनिन्छ । वास्तवमा यो विषयमा के भएको हो भनी सामाजिक तथा आर्थिक विष्लेषण गर्दा स्थानीयले रोजगारीनै नपाएको भन्ने होइन । आयोजनाको काममा कमै रोजगार प्राप्त गरेतापनि आयोजनाले सामाजिक पूर्वाधारका क्षेत्रमा गरेको लगानीबाट आर्थिक समृद्धीका थुप्र्रै बाटाहरु खुलेका छन् । स्वरोजगार हुन सक्ने थुप्रै बाटाहरु, उपायहरु छन् । इआइए प्रतिवेदनको आशय भनेको केबल सिधै माछा नदिएर माछा मार्ने तरीका सिकाउने पनि हो । सोको भाव अनुसार सम्पूर्ण गाँउवासीहरुको उज्वल भबिश्य, समृद्धी तथा आर्थिक प्रगतिको लागि आयोजनाले स्थानीयबासीहरुको लागि सहयोग गरिरहेको छ । तसर्थ स्थानीयहरुले क्षणिक लाभ लिनु भन्दा दिर्घकालिन लाभ लिन सक्रिय हुन जरुरी छ ।
जलविद्युत आयोजना निर्माण,संचालन तथा कार्यान्वयनको लागि आबश्यक पर्ने जनशक्तिको व्यबस्थापन आयोजनाको लागि चुनौतीपूर्ण बिषय हो । आायोजना निर्माण,संचालन तथा कार्यान्वयनको लागि विविधखाले जनशक्तिको आबश्यकता पर्दछ । त्यसमध्ये जलविद्युत आयोजना निर्माण,संचालन तथा कार्यान्वयनको लागि आबश्यक पर्ने अधिकाँश जनशक्ति भनेको सिपयुक्त दक्ष जनशक्तिनै हो । थोरै मात्रामा मात्रै अदक्ष वा अर्धदक्ष कामदारको आबश्यकता पर्दछ । स्थानीय स्तरमा उपलव्ध कामदारहरुबाट आयोजनाको निर्माण कार्य सम्पन्न हुन सम्भवनै देखिंदैन । अधिकाँश जलविद्युत आयोजनाहरु दुर्गम,अविकशित दुरदराजका गाँउबस्तीहरुमा निर्माण हुन गइरहेका हुन्छन् । ती दुरदराजका गाँउहरुमा आयोजनालाई आबश्यक पर्ने सिभिल इन्जिनियर,मेकानिकल इन्जिनियर,भूगर्भशास्त्री,इलेक्ट्रीकल इन्जिनियर,प्लम्बर,वेल्डरलगायतका प्राविधिक जनशक्तिको उपलव्धता अत्यन्त न्युन छ । स्थानीय स्तरमा उपलब्ध हुन सक्ने जनशक्ति प्रमूख रुपमा ड्राइभर,सुरक्षा गार्ड,कुक हुन भने थोरै मात्रामा वेल्डर,इलेक्ट्रीसियन उपलव्ध हुन सक्छन् । स्थानीय स्तरमा आयोजना निर्माण हँदै गर्दा स्थानीयहरुले रोजगारीको माग गर्नु स्वभाविकनै हो । तर पनि सिपयुत्त जनशक्तिको अभावमा स्थानीयहरुको कम सहभागिता हुनु विडम्बनानै हो । नेपालको सन्दर्भमा एकातिर दक्ष जनशक्तिको अभावमा आयोजनाहरु समयमानै सम्पन्न हुन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको लागि नेपाली दाजुभाईहरु बिदेशिनु पर्ने बाध्यता कायमै रहेको छ । दक्ष जनशक्तिको माग नेपालमा अत्यधिक छ । जलविद्युत आयोजनामा काम गर्ने कतिपय दक्ष कामदारहरु भारतीय,चाइनिज लगायतका छन् । असक्षम जनशक्तिको कारणले स्थानीयहरुले जलविद्युत आयोजनाको काममा थोरै अबसर पाएका छन् भने दक्ष जनशक्तिकै अभावमा कतिपय आयोजना निर्माणको कार्य समयममै सम्पन्न हुन सकिरहेका छैनन् । विकाश निर्माणको कार्यहरु तिव्ररुपमा हुँदै गइरहेको अबस्थामा विभिन्न विकाश निर्माणका आयोजनाहरुमा दक्ष जनशक्तिको अभाव दिनप्रतिदिन बढ्दो छ । एकातिर दक्ष जनशक्तिको अभावमा आयोजनाहरु समयमै सम्पन्न हुन नसक्ने, दक्ष जनशक्ति बाहिरवाट आयात गर्नु पर्ने,अर्कोतिर स्थानीय जनशक्ति बाहिर पलायन हुन पर्ने बाध्यता छ । दक्ष जनशक्ति उत्पादनको लागि आयोजना निर्माण हुने स्थानीय तहमा विभिन्न प्रकारका सिपविकाश सम्बन्धी तालिम,विद्यालय र कलेजहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन गराउनु पर्ने आबश्यक भएको छ । आयोजना निर्माण, संचालन तथा कार्यान्वयनको लागि विभिन्न प्रकारका सिपयुक्त दक्ष जनशक्तिको आबश्यक पर्ने भएकोले सोको व्यबस्थाको लागि आयोजना निर्माण पुर्वनै स्थानीय तहबाट सक्षम जनशक्ति उत्पादनको लागि पहल गर्न अपरिहार्य भएको देखिन्छ ।
गरिवी,अशिक्षा,बेरोजगारी राष्ट्रिय समस्या हो । यो समस्याको समाधान अमुक आयोजनाले मात्रै गर्न सक्दैन । तर पनि केही हदसम्म आयोजना निर्माणको काममा स्थानीयहरुले थोरै भएपनि रोजगारीको अबसर प्राप्त गर्न सक्दछन् । तर जलविद्युत आयोजनाबाट मात्रै सम्पूर्ण बेरोजगारहरुले रोजगार प्राप्त गर्न सक्दछन् भन्न सकिंदैन । रोजगारीको सवालमा आयोजनालाई मात्रै स्थानीयहरुले दोष दिएर हुँदैन । रोजगारी प्राप्त गर्न चाहने व्यक्ति र रोजगारदाता कम्पनीको बीचमा सहमती भएमात्र रोजगारी प्राप्त हुन्छ । रोजगारदाता कम्पनीको आफ्नो नियम र पक्रिया हुन्छ । रोजगारदाता कम्पनीको नियम,पक्रिया बमोजिम काम गर्ने इच्छा भएमा र आफुले काम गर्ने पदमा आफ्नो योग्यता क्षमता भएमा मात्र रोजगार प्राप्त हुन्छ । यो सर्वव्यापी मान्यता हो । आयोजना आफैंले आयोजना निर्माणको कार्य गरेको हुँदैन । आयोजना निर्माणको लागि आयोजनाले विधि प्रक्रिया अनुसार बिबिध कामको लागि बिभिन्न ठेकदार कम्पनीलाई जिम्मेवारी दिएको हुन्छ । आयोजनाले सिधै स्थानीयहरुलाई रोजगारी दिने संभावना रहँदैन । आयोजनाको कामको जिम्मेवारी पाएका ठेकदार कम्पनी मार्फत रोजगार प्राप्त गर्न चाहने, योग्यता, क्षमता भएका स्थानीयहरुले काम गर्ने इच्छा राखेमा, कम्पनीबाट प्राप्त हुने सेवा,सुविधामा मन्जुर भएमा रोजगारी प्राप्त भएको उदाहरण पनि प्रशस्तै देखिन्छन् । तर स्थानीय केही सिमित व्यक्ति बाहेक अधिकाँश व्यक्तिहरु आयोजनाको काममा आकर्शित भएको पाँइदैन । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरुको शैक्षिक स्तर न्युन,सिप तथा दक्षता कम हुँदाहुँदै पनि उच्च पारिश्रमिकको माग भएको पाइयो । आयोजना निर्माणको काममा संलग्न कामदारहरुको पारिश्रमिकमा स्थानीयहरु काम गर्न इच्छुक भएको पाइदैन । ठेक्mदार कम्पनीबाट उपलब्ध गराइने पारिश्रमिक स्थानीयहरुको लागि कम भएको महशुष भएकोले स्थानीयहरुले काम गर्ने अनिच्छा देखाएको पाइन्छ । तर पनि योग्यता,क्षमता र अुनुभवी व्लाष्टर,बुमर,हेभी इक्विप्मेन्ट चलाउने ड्राईभर,मेकानिक,वेल्डर,इलेक्ट्रिीसियनहरुले राम्रो तलवमान भएको बताउँछन् ।
आयोजना निर्माणको कार्यमा स्थानीयहरुको सहभागिता न्युन हुनाको कारण नेपालमै बसेर काम गर्ने सोचको अभाव भएर पनि हो । अधिकाँश नेपाली युवायुवतीहरुलाई बिदेशमा काम गर्ने मोह रहेको पाईन्छ । कतिपय स्थानीय स्तरमा लाहुरे बन्ने संस्कृती पनि रहेको छ । नेपालमा बसेर निम्न स्तरको काम गर्न युवाहरुलाई लाज हुने,बढी महत्वाकाँक्षी भएको कारणले कम समयमा धेरै अर्थोेपार्जन गर्ने मनसायले आयोजनाको काममा सहभागि नभई विदेशिएको पाईन्छ ।
पक्कै पनि रोजगारी प्राप्त हुने वा रोजगार बन्ने सवाल व्यक्तिको व्यक्तिगत क्षमता र दक्षतामा भर पर्ने कुरा हो । रोजगारदाताले छिटोछरितो,चुस्तदुरुस्त ढंगले कार्य सम्पादन गर्ने व्यक्तिलाई छनौट गर्दछन् । यसको लागि रोजगारी प्राप्त गर्न चाहनेले आफ्नो क्षमता वृद्धी गर्नु पर्दछ । सम्वन्धित व्यक्तिले आफ्नो कार्य क्षेत्रमा निपुणता प्राप्त गरेमा वा सक्षम भएमा रोजगारदातावाट रोजगारी सहजै प्राप्त गर्न सक्छन् । एउटै काम वा पदमा रहेका विभिन्न व्यक्तिहरुको आम्दानी फरक फरक हुन सक्दछ । यो उसको कार्य दक्षतामा भर पर्दछ । त्यसैले चाहे विदेशमा गएर काम गर्न होस,चाहे नेपालमै बसेर काम गर्न होस योग्यता र क्षमता त चाहिन्छनै । तसर्थ स्थानीयस्तरमा निर्माण हुन गइरहेका वा संचालनमा आएका जलविद्युत आयोजनामा रोजगारी प्राप्त गर्नको लागि सम्बन्धित क्षेत्रको ज्ञान र सिप हुन जरुरी छ ।
स्थानीयस्तरमा संचालित आयोजनाहरुमा स्थानीय व्यक्तिहरुको कम सहभागिता हुनुमा काम गरी खाने संस्कारको विकाश नभएर पनि हो । धेरैजसो युवाहरु परनिर्भरताको शिकार भएको देखिन्छ । वावुआमाको कमाईबाटनै जीवन धान्ने,जीवन धान्न अप्ठेरो भएमा थोरै मिहिनेतबाट धेरै कमाउन खोज्ने, केही सिप नलागेमा ऋण खोजेर विदेश जाने परिपाटी रहीआएको छ । आफ्नै देश,गाँउ,समाजमा बसेर केही सिर्जनात्मक काम गरौ,स्वरोजगार बनौ भन्ने भावना कमै युवाहरुमा मात्र पाइन्छ । काम गर्ने इच्छा र जाँगर भएका व्यक्तिहरुको लागि काम वा रोजगारको कहिल्यै खाँचो पर्दैन । जसरी पनि काम गरिनैरहेका हुन्छन् । हाम्रो समाजमा कामलाई सम्मान गर्ने संस्कार नभएकोले बढी शारीरिक श्रम गर्नु पर्ने खालका काम गर्ने व्यक्तिलाई इज्जतकासाथ हेरिदैन । काम कहिल्यै सानो ठूलो हुँदैन । कामको प्रकृती हेरी कुनै काम सरल र बुद्दी लगाएर गर्नु पर्ने खालका हुन्छन् भने कुनै बढी शारीरिक परिश्रम गर्नु पर्ने खालका हुन्छन् । आयोजनाको काममा दैनिक दश घण्टा भन्दा बढी खटिनु पर्ने हुन्छ । विदा अत्यन्त न्युन हुन्छ । हिंडडुल गर्ने,मेला,जात्रा जाने,रमाइलो गर्ने समय हुँदैन । स्थानीयहरुको लागि मात्रै छुट्टै नियम हुँदैन । कम्पनीको नियम,विधि,पक्रिया त सम्पूर्ण कामदारहरुको लागि बरोबरी लागु हुन्छ । यी र यस्तैखाले कम्पनीका नियम, विधि र पक्रियाभित्र रही काम गर्न इच्छा नभएका युवाहरु आयोजनाको काममा सहभागी हुन सक्दैनन् । तर पनि स्थानीयहरुको सहभागिता हुँदै नभएको भने होइन ।
स्थानीयस्तरमा रोजगार श्रृजना गर्ने सवालमा जलविद्युत आयोजना सहयोगी बन्न सक्दछ । यसको लागि सिपयुक्त जनशक्ति उत्पादनको लागि समयमै स्थानीयतहले पहल गर्नु आबश्यक रहेको छ । त्यसैगरी स्थानीय व्यक्तिहरुले आफ्नो क्षमता वृद्दी गरी कामको सम्मान गर्दे आफ्नै ठाँउमा केही गरौं भन्ने भावनाकासाथ अगाडी बढ्नु जरुरी छ ।

(लेखक म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरण व्यबस्थापन इकाईमा इकाई प्रमूखको रुपमा कार्यरत हुनुहुन्छ ।)

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...