बेनी-दरबाङको हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो

Sinchai Khanipani notice


अमृत सुवेदी

म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत उठाएका थिए । माओवादी जनसरकारले पनि सडकको ट्रयाक खोल्न सघाएको थियो । बेनी-दरबाङ सडक खुल्दा स्थानीय खुसीले नाचेका थिए ।’

२०६३ साल असोजमा सडकको ट्रयाक खुलिसक्दा तत्कालीन डेढ दर्जन गाविसवासी हर्षित थिए । बेनी नगरपालिकाको केही वडासँगै मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य सडक नै अहिले यही हो ।

Shreekrishna hardwear in news

सडकको ट्रयाक खुल्दा खुसी मनाएका स्थानीय १५ वर्षपछि भने आक्रोसित छन् । बेनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानिया भन्छन्, ‘स्थानीयको खुसी लामो समय टिकेन । सडकको ट्रयाक त खुल्यो तर न नियमित गाडीमा आउ-जाउ गर्न पाए न ढुक्कले निदाउन नै सके ।’

ट्र्याक खुलेपछि पनि पटक-पटक डोजर लगाउनु पर्दा भिरालो माटो खलबलियो । विस्तार र स्तरोन्नति भन्दै ठेक्का लगाएर पनि पनि काम नहुँदा सडककै कारण बर्सेनि पहिरो खसिरहेको छ । ‘बेनी वडा नम्बर ६ को डम्मरा, माझखेत, चत्रेनी, सिंगा, तातोपानी लगायतका गाउँमा सडककै कारण गाउँले जोखिममा परे,’ वडाध्यक्ष बानियाले भने, ‘सडकको भल व्यवस्थापन नहुँदा, जोखिमयुक्त ठाउँमा ध्यान नदिँदा थुपै परिवार निदाउन सक्दैनन् ।’

सडक सुधार गर्न तत्कालीन जिल्ला विकास समितिको डि्रलिप परियोजना लाग्यो तर प्रभावकारी कार्यान्वयन नै हुन नसकेर फेल भयो । रणनीतिक सडकको रुपमा रहेको बेनी-दरबाङ सडक ७/८ वर्ष अघिदेखि नै स्तरोन्नति तथा पिच नै गर्ने योजना अगाडि बढ्यो ।

बेनी-दरबाङ सडकलाई म्याग्दीको ‘लाइफलाइन’ सडक भनियो । सरकारले पनि यसलाई रणनीतिक सडक भन्यो । २०७४ मा ठेक्कामा नै गएपछि भने चार पालिकाका स्थानीय ढुक्क थिए, अब भने बाटोकै कारण दुःखका दिन गए । तर, ठेक्का सम्झौताको म्याद गुजि्रएर दुई पटक थपेर पनि बाटोको काम नभएपछि स्थानीय आन्दोलनमै उत्रिएका छन् ।

व्यंग्यात्मक शैलीमा आभार, ठेकेदारको फोटोमा कालोपोतो

३ खण्डमा बाँडिएको बेनी-बरबाङ सडकको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्न ४७ करोड रुपैयाँमा ठेक्कामा दिइएको थियो । दुई पटक म्याद थपेर आधा पनि काम नभएर सास्ती खेप्नुपरेपछि स्थानीय विरोधमा उत्रिए । यो सडक खण्डको ठाउँ-ठाउँमा ठेकेदारको फोटो सार्वजनिक गरे । ‘जनतालाई सास्ती दिएकोमा आभार’ भन्दै ठेकेदारको फोटोमा कालोसमेत पोते ।

सम्झौता अवधि सकिएर दुई पटक म्याद थपेर आधा पनि काम नगर्ने ठेकेदार कम्पनी हो, लामा-समानान्तर जेभी । यसको सञ्चालक हुन्, संघीय सांसद जीपछिरिङ लामा । कोभिड-१९ सुरु हुनुभन्दा अगाडि नै सक्नुपर्ने सडक दुई पटक म्याद थपिएर पनि २०७७ चैत ३० को म्याद गुज्रिएको छ तर काम भने करिब आधामात्रै भएको छ ।

ठेकेदारले समयमै काम नगरिदिएर सडककै कारण पहिरोको जोखिम, हिलो र धुलोमा हिँड्नुपर्ने समस्याले सास्ती पाएपछि स्थानीयले जीपछिरिङको फोटो सार्वजनिक गरेका हुन् । बेनी नगरपालिका-६ डम्मरा आसपासमा ठेकेदार सांसद जिपछिरिङको तस्वीरमा कालो पोतेर ठाउँ/ठाउँमा झुन्ड्याइएको छ ।

Bhautik ministry notice about road

संसदको विकास समिति सदस्यसमेत रहेका जिपछिरिङको कम्पनी देशैभरि समयमा काम नसक्नेको रुपमा बदनाम छ । ‘काम सकिइसक्नु पर्ने बेलामा आधा काममात्रै भएको छ । बाटोको कारण ४/५ गाउँका ५० औं घरपरिवार पानी पर्दा निदाउन सक्दैनन्,’ बेनी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाले भने, ‘डोजरले बाटो बिस्तार गर्ने भनेर खन्दै-खन्दै गयो तर बनाउँदै बनाएन ।’

कालोपत्रेका लागि भन्दै भत्काइएको पाखो त्यसै छोड्दा सडक आसपासका बस्तीमा पहिराको जोखिम बढेको उनको भनाइ छ । सडक साँघुरो, ग्रेड नमिलेको नालीसमेत नहुँदा सडकबाट भल बस्तीमा आउने गरेको स्थानीय निमा शर्माको भनाइ छ ।

हिउँदमा काम गरेजस्तो गर्ने तर बर्खामा सडकबाटै खोलो बस्ने, त्यसैले पहिरो खसाल्ने र आधा घन्टाको बाटो पनि ५ घन्टा लगाएर हिँड्नुपर्ने परिस्थिति ठेकेदार कम्पनीले सिर्जना गरेको उनले बताए । ‘सडकलाई क्रोनिकमात्रै बनाउने र त्यसबाट जोखिमबाट निम्त्याउने हो भने माननीय ठेकेदारसँगको सम्झौता रद्ध गर्नुपर्यो, कि कारबाही गर्नुपर्यो,’ स्थानीय हरि मगरले बताए ।

यो सडक संघबाट प्रदेशमा हस्तान्तरण भएर आएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दी प्रमुख नवराज शर्मा भन्छन्, ‘कहिले कामै हुन सकेन भने कहिले विभिन्न बहाना बनाएर अघि बढेन । पछिल्लो समय फेरि कोभिडको कारण देखाएर लम्ब्याइएको छ ।’

फेरि सडक निर्माण सक्ने ६ महीना म्याद थपिएको तर त्यो समय सीमामा पनि काम सक्ने सम्भावना नै नरहेको इन्जिनियर सन्तोष अर्यालले बताए । ‘जतिसक्दो छिटो काम सक्न भनेका हौं,’ इन्जिनियर अर्यालले भने, ‘धरौटी जफत, जरिवाना र कालोसूचीमा राख्ने चेतावनी दिए पनि दोस्रो लहरको कोरोनाले फेरि म्याद थप्ने अवस्था आयो ।’

सडक समयमै नसकिँदा सयौं घर पहिरोको जोखिममा, यातायात अवरुद्ध हुँदा कोही बिरामी परे बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै स्थानीयले व्यंग्यात्मक रुपमा सांसद जिपछिरिङलाई आभार व्यक्त गर्दै फोटो सार्वजनिक गरेका थिए ।

तलब नपाएको कामदारको गुनासो

अहिले फेरि सडकको काम सुस्त गतिमा सुरु हुन थालेको छ । तर, कामदारले ६ महीनाअघिकै तलब नपाएको गुनासो गरिरहेका छन् । ‘सुस्त गतिमा काम हुन थालेको थियो तर कामदारले समयमा पैसा नपाएर फेरि काम रोक्ने तयारी गरिरहेका छन्,’ बेनी-४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘६ महीनासम्म पैसा नपाएको गुनासो कामदारले गरेका छन् ।’

यो सडक आयोजनाको आधिकारिक प्रतिनिधिको रुपमा दयाराम थापा खटिएका छन् । ठेकेदार कम्पनीले हस्तान्तरणमा ढिलाइ गरेको तथा पहिरो र कोभिङका कारण ढिलाइ भएको बताएको छ ।

बेनी-दरबाङ सडकको दोस्रो खण्ड सिमबाट लाम्पाटासम्म ३ दशमलव छ किलोमिटर भने ठेक्का प्रस्ताव गरिएको भए पनि अझै स्रोत सुनिश्चित भइसकेको छैन । २०७६ साउनदेखि लाम्पाटाबाट दरवाङसम्मको ८ किलोमिटर सडक विस्तार र कालोपत्र गर्न बिरुवा-क्याराभान जेभीलाई ठेक्का दिइएको छ । विसं २०७८ जेठसम्म सकिसक्नु पर्ने भए पनि ५० प्रतिशतमात्र काम भएको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज पौडेलले जानकारी दिए । २२ करोड ५७ लाख रुपैयाँमा बिरुवा-क्याराभान जेभीले ठेक्का पाएको हो ।

बेनी-दरबाङमा मात्र होइन, जिपछिरिङको कम्पनीले लिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको अवस्था पनि उस्तै छ । उनको कम्पनिले नयाँपुल-मालढुंगा २४ किलोमिटर ठेक्का पाएको छ । २०७३ मा ठेक्कामा गएको सडक अहिलेसम्म सकिइसक्नुपर्ने थियो । ८० प्रतिशत सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गका इन्जिनियर उज्ज्वल शर्माका अनुसार कोभिड र पछिल्लो समयको पहिरोका कारण ढिला भएको बताए  ।

यो समाचार अनलाइनखबरबाट साभार गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...