धौलागिरि खबर

‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतम
नारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ ।

मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी, म्रिस्ती, निलगिरी, घलेम्दी, रेले र नारच्याङ खोला बग्दछन् । यी नदीमा ४९ मेगावाट क्षमताका तीन वटा जलबिद्युत आयोजना निर्माण भएका छन् । थप ११६ मेगावाट क्षमताका तीन वटा आयोजना निर्माणाधिन र १३९.९४ मेगावाट क्षमताका चार वटा आयोजना निर्माणाको प्रक्रियामा छन् ।

निर्माण भएका र निर्माणका क्रममा रहेका जलबिद्युत आयोजनाले नारच्याङको कायापलट भएको छ । चहलपहल र आर्थिक गतिबिधी बढाएको छ । नारच्याङका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले भौतिक पुर्बाधार, सामाजिक, आर्थिक, कृषि लगायत समग्र बिकासमा जलबिद्युत आयोजनाहरुबाट महत्वपूर्ण योगदान भएको बताउनुहुन्छ ।

Rara Auto Mobiels

“हामीले कल्पना सम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ,” उहाँले भन्नुभयो “हाइड्रोपावर भित्रिएसँगै गाउँका कच्चि घर धमाधम पक्किमा रुपान्तरण भइरहेका छन् ।”

जग्गाको भाउ आकासिएको छ । सहरबजारमा जस्तै मानिसहरुको बाक्लो चहलपहल छ । महँगा र ठूला गाडी ओहोर दोहोर गरिरहन्छन् । करिब ४५० घरधुरीमा एक हजार ६०० जनसंख्याको बसोबास भएको नारच्याङका जलबिद्युत आयोजनाहरुमा काम गर्न त्यो भन्दा बढी संख्यामा मानिसहरु बाहिरबाट आएका छन् ।

प्रतिरोपनी रु. ३० देखि ३५ लाखमा जग्गा खरिद बिक्री हुन थालेको वडा अध्यक्ष फगामी बताउनुहुन्छ । अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र बिदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइसराई रोकिएको छ । गाउँमै प्राबिधिक बिषयको बिद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् ।

पोखराबाट होटल सञ्चालन गर्न गाउँ फर्किएका नारच्याङका टेकबहादुर पुनले गाउँमै अवसर पाएपछि बाहिर जानु नपरेको बताउनुभयो । जलबिद्युत आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवन लगायतका पुर्बाधारले स्थानीयबासीलाई सुबिधा पुगेको छ ।

जग्गाको मुआब्जा, ब्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्का–पट्टा, ढुवानी, यातायात ब्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताउनुभयो । “प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गाउँमै धेरै सम्भावना र अवसर सिर्जना भएको छ,” उहाँले भन्नुभयो “आयोजनाहरुले सामाजिक उत्तरदायित्वका कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, सिप बिकास र पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको छ ।”

निर्माणका क्रममा हुने वातावरणीय क्षतिको असर न्युनीकरणका लागि जलबिद्युत आयोजनाहरुले कुल लागतको शून्य दशमलब ७५ प्रतिशत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि बिनियोजन र खर्च गर्नुपर्ने हुन्छ । जलबिद्युत आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्य संघीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँड हुने संबैधानिक ब्यवस्था छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत नारच्याङका सामुदायिक बिद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता, वृक्षारोपण, सिपमुलक तालिम, जैबिक बिबिधताको खोज अनुसन्धान र संरक्षण, पर्यटन प्रर्वद्धनलाई सहयोग पुग्ने कार्यक्रम गरेका छन् ।

हालै निर्माण सकिएको म्रिस्तीखोला जलबिद्युत आयोजनाको वातावरणीय इकाईका प्रमुख रामकुमार खड्काका अनुसार प्रभा माविका तीन जना निजी स्रोतका शिक्षकको लागि सात वर्ष तलबभत्ता उपलब्ध गराएको थियो । प्रभा माबीले दुई वर्षदेखि हाइड्रो इञ्जिनियरीङ बिषयको पठनपाठन सञ्चालन गरेको छ । क्रान्ति, निलगिरी, धवलागिरी र नारच्याङ आधारभूत बिद्यालयका प्राबी तहका एक÷एक जना शिक्षकलाई सात बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत म्रिस्तीखोलाले तलबभत्ता ब्यवस्था गरेको थियो ।

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु. पाँच लाख, शिवालय मन्दिर निर्माणमा रु. पाँच लाख सहयोग गरेको म्रिस्तीखोलाले स्थानीयबासीलाई घरबास, च्याउ खेती, सवारी चालक, इलेक्ट्रिसियन सम्बन्धी तालिम प्रदान गरेको थियो । निर्माणाधिन निलगिरीखोला जलबिद्युत आयोजनाले प्रभा मावि परिसरमा हालै रु. १५ लाख खर्चेर चमेनागृहको भवन निर्माण गरेको छ ।

म्रिस्तीखोला जलबिद्युत आयोजनाले बि.स. २०७१ कालीगण्डकी नदी माथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेशी र पटारको सिमाना स्थित म्रिस्तीखोला र बाँध देखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले १४ किलोमिटर सडक निर्माण गरेको छ ।

रेलेखोला जलबिद्युत आयोजना निर्माण स्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेशी देखि लेकगाउँ गत वर्ष सडक सञ्जालमा जोडिएको थियो । स्थानीयबासी, तत्कालीन जिबिस र गाउँपालिकाले रु. एक करोड भन्दा बढी खर्च गरेपनि बेशी देखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसकेर अलपत्र परेको थियो ।

जलबिद्युत आयोजनाले बिस्फोटक पदार्थ र उपकरण प्रयोग गरेर अक्करे पहाड छिचोलेर गाउँमा सडक पुगेको लेकगाउँका श्याम पुर्जाले बताउनुभयो । “हामीले करिब पाँच वर्षदेखि निरन्तर प्रयास गर्दा पनि सडक निर्माण गर्न सकेका थिएनौ,” उहाँले भन्नुभयो “आयोजनाले सडक बनाएपछि स्थानीयबासीलाई पनि आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ ।”
म्रिस्तीखोलाले सेनाको क्याम्प राख्न बेशीगाउँमा बनाएको भवनमा अन्नपूर्ण गाउँपालिकाले गत पुष महिनादेखि २५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरेको छ । आयोजना निर्माण सकिएपछि सेनाले प्रयोग गरेर खाली भएको भवनमा अस्पताल सञ्चालन भएको हो ।

नारच्याङबासीको आर्थिक हैसियतमा पनि जलबिद्युत आयोजनाहरुले परिवर्तन ल्याएका छन् । उच्च र मध्यम बर्गकाले ब्यापारसँगै आयोजनाहरुमा ठेक्काट्टा, गाडी, ट्याक्टर, एक्साभेटर, ब्याकुहोलोडर भाडामा लगाएका छन् । न्युन बर्गकाले दैनिक ज्याला मजदुरी गरेर गाउँमै रोजगारी र आम्दानीको अवसर पाएका छन् ।

गत वर्ष म्रिस्तीखोला जलबिद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाहरुले सत्र लाख तीन सय ५१२ कित्ता सेयर लगानी गरेका थिए । धितोपत्र बोर्डमा गत हप्ता म्रिस्तीको प्रतिकित्ता सेयर ९७० का दरले कारोबार भएको थियो । सेयरको भाउ करिब दश गुणाले बढेपछि लगानी गरेका नारच्याङबासी उत्साहित छन् । संस्थापक सेयर लगानी गरेका उनिहरुले दुई वर्षपछि किनबेच गर्न पाउँछन् ।
एकै वडामा दश जलबिद्युत आयोजना
बि.स. २०४५ मा नेपाल बिद्युत प्राधिकरणले २ मेगावाट क्षमताको तातोपानी साना जलबिद्युत आयोजना निर्माण गरेको नारच्याङमा त्यसको दुई दशकपछि निजी क्षेत्रले आयोजना निर्माणमा चासो देखाएका थिए । तर साठीको दशकको अन्तिम तिरबाट नारच्याङमा जलबिद्युत आयोजना निर्माण हुन् थालेका हुन् ।

बि.स. २०७६ मा म्याग्देलीहरुको अगुवाइमा घलेम्दी हाइड्रो लिमिटेडले पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना निर्माण गरेको थियो । बि.स. २०७३ जेठ देखि माउन्टेन इनर्जी नेपालले निर्माण सुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलबिद्युत आयोजनाले गत असार देखि ब्यवसायिक उत्पादन सुरु गरेको छ ।

प्रतिमेगावाट रु. १३ करोड ४३ लाखमा निर्माण सकिएको म्रिस्तीखोला स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको नेपालको सबैभन्दा ठूलो आयोजना हो । म्रिस्तिखोलामा भाटभटेनी समुह, नबिन, लक्ष्मी, सिद्धार्थ, एस डेभलपमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र जलविद्युत बिकास कम्पनीको लगानी छ ।

निलगिरीखोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाट क्षमताको निलगिरी–२ जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । बि.स. २०७४ देखि निलगिरीखोला दोस्रोको बिद्युतगृहदेखि सुरु भएको करिब २० किलोमिटर दुरिको पहुँचमार्ग त्यसको बाँध र निलगिरी पहिलोको बिद्युतगृह हुदै बाँधसम्म जोडिएको छ ।

पाँच किलोमिटर ५०० मिटर मध्य पाँच वटा अडितबाट करिब दुई किलोमिटर सुरुङ खनिसकेको निलगिरी दोस्रोको छोटेपामा बाँध र दोभिल्नामा बिद्युतगृह निर्माण सुरु भएको छ । छोटेपामा बिद्युतगृह र तीन किलोमिटर सुरुङ निर्माण सुरु भएको छ । रु. तेह् अरब लागत अनुमान गरिएको दुई वटै आयोजना सन २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निलगिरी पहिलोको विद्युतगृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ ।

रन अफ द रिभर प्रकृतिका दुई वटै आयोजनाबाट उत्पादीत बिद्युत छोटेपा–दोबिल्ना हुदै दाना सब स्टेशन जोड्ने ७.४ किलोमिटर दुरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणको तयारी गरेको इञ्जिनियर केशव वाग्लेले बताउनुभयो ।

ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजनाले नारच्याङको बेशी गाउँको शिरानमा रहेको म्रिस्तीखोला जलबिद्युत आयोजनाको आउटलेट देखि बाँधसम्म १४ किलोमिटर दुरीको पहुँचमार्ग निर्माण गरेको छ ।

कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र बिद्युतगृह निर्माण सुरु गर्ने तयारी भएको बताउनुभयो । प्रतिमेगावाट रु. २० करोड लागत अनुमान गरिएको रेलेखोलामा कुल लागतको ५० प्रतिशत हिमालयन र २० प्रतिशत राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने सम्झौता भएको छ । बिद्युत प्राधिकरणसँग खरिद बिक्री सम्झौता गरेर बिद्युत बिकास बिभागले जेनेरेशन अनुमति दिइसकेको छ ।

खोपाराको फेदीमा पर्ने रेलेखर्क भन्ने ठाउँमा बाँध र घलेम्दी जलबिद्युत आयोजनाको इन्टेक नजिकै हरिस्वाँरामा बिद्युत गृह निर्माण गर्न ८० रोपनी जग्गा ब्यवस्थापन भएको छ । सुरुङ र नहरको बिकल्पमा बाँधदेखि १.८ किलोमिटर मुख्य पाइपलाइबाट पानी ल्याइने भएको छ । १.६ किलोमिटर पेनस्टेक पाइप रहने भएको छ ।

सुपर घलेम्दी हाइड्रोपावर प्रा.लीले बनाउने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजनाको दुई वर्षअघि नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद बिक्री सम्झौता भएको थियो । घलेम्दीखोलाको मुहानमा बाँध र घलेम्दीखोला जलबिद्युत आयोजनाको बाँध भन्दा २०० मिटर माथि बिद्युतगृह प्रस्ताव गरिएको सुपर घलेम्दीको २.५ किलोमिटर सुरुङ निर्माण र एक किलोमिटर पेनस्टक पाइप जडान गरिने आयोजनाका संस्थापक मनप्रसाद कडेलले बताउनुभयो ।
कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलबिद्युत आयोजनाको बिद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्तीखोलाको बिद्युतगृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलबिद्युत आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रा.ली प्रर्वद्धक रहेको ५३.५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलबिद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताब गरिएको छ ।

तयार छ प्रशारण लाइन

कालीगण्डकी र आसपासका नदीहरुमा निर्माण भएका र निर्माणाधिन जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युतलाई राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न नेपाल बिद्युत प्राधिकरणले नारच्याङको छिमेकी वडामा सबस्टेशन बनाएको छ । २०७७ माघमा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय लाइनमा जोडिएका छन् ।

म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रशारण लाइन बनाएपछि भने कालीगण्डकी र आसपासका क्षेत्रमा जलबिद्युत आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष समेत रहनुभएका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तरगत नेपाल बिद्युत प्राधिकरणले लक्ष्य भन्दा दुई वर्ष ढिला गरि २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन निर्माण गरेको हो । सन २०१८ को नोबेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको बिवाद, बाढी र पहिरोका कारण लक्ष्य भन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो । एशियाली बिकास बैंकको सहयोगमा सन २०१६ को ३० मे मा दाना–खुर्कोट प्रशारण लाइन आयोजना निर्माण सुरु गरेकोे थियो ।

प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु. २ अरब ९० करोडमा ठेक्का लिएको थियो । दाना सबस्टेशन म्याग्दीको जलबिद्युत बिकासको ‘सेतु’ बनेको छ ।
रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना र १३२ केभी क्षमताको राहुघाट सबस्टेशन जोड्ने चार वटा टावर निर्माणाधिन छन् । ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...