म्याग्दीमा भूकम्प पछिको पुननिर्माणको अवस्था (भिडियो सहित)

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेशको दुई हजार २९७ हेक्टर क्षेत्रफलमा फैलिएको अधिकांश भिरालो भूगोलमा अवस्थित म्याग्दी पहिरो, कटान, बाढी र आगोलागी जस्ता विपद्का हिसाबले जोखिमयुक्त जिल्ला हो । बि.स. २०७२ साल बैशाख १२ गते शनिबार मध्यान्ह ११.५६ मा गोरखाको बारपाक केन्द्र बिन्दु भएको ७.६ रिक्टर स्केलको बिनाशकारी भुकम्प र त्यसपछिका परकम्पनहरुले १४ वटा जिल्लामा ठूलो जनधनको क्षति भयो । यो भूकम्पबाट म्याग्दी लगायत ३१ वटा जिल्ला प्रत्यक्ष प्रभावित भए । म्याग्दीमा भूकम्पले निजी आवास, सरकारी र सामुदायिक बिद्यालयका भवन, खानेपानी, सिचाई, सडक, लघुजलबिद्युत परियोजनाका भौतिक संरचनामा क्षति पुग्यो । भूकम्पपछि चर्किएका पहाडबाट पहिरो खस्ने, नदी थुनिने, बाढीले कटान गर्ने, भू–क्षय हुने, पानीका मुहान सुक्ने जस्ता असरहरु देखिए ।

भूकम्पपछिको पुननिर्माणका लागि २०७३ मा स्थापना भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले कम प्रभावितको सूचिमा परेको म्याग्दीमा स्थापनाकालदेखि साबिक जिल्ला बिकास समिति मार्फत निजी आवास पुननिर्माण र स्थानीय पुर्बाधार कार्यक्रम अघि बढाएको थियो । २०७५ बैशाख २५ गते प्राधिकरणले म्याग्दीमा जिल्ला आयोजना कार्यान्वयन इकाई स्थापना गरेपछि निजी आवास, विद्यालय, सडक आयोजना पुननिर्माणले गति लिएको हो । पुननिर्माणलाई थप गति दिन २०७६ देखी बिद्यालय भवन हेर्ने छुट्टै कार्यालय स्थापना भएको थियो ।

भूकम्पले क्षति पुगेका सरकारी तथा स्वास्थ्य संस्थाका भवन पुननिर्माणको जिम्मा लिएको कार्यालय भने बागलुङबाट सञ्चालन भइरहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्बाधार) मार्फत निजी आवास पुनःनिर्माण, पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक र सो अन्र्तगत पोखरे–पाउद्धार सडकको घारखोलामा मोटरेबल पुल निर्माण आयोजना सञ्चालन भइरहेको छ ।

Shreekrishna hardwear in news

म्याग्दीका ९८४ ले निजी आवास पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेका थिए । प्राधिकरणले २०७३ माघदेखि सम्झौता सुरु गरेर २०७४ मंसिर देखि म्याग्दीका हरेक स्थानीय तहमा प्राबिधिक कर्मचारी खटाई घर पुननिर्माण सुरु गरेको थियो । निजी आवास पुनर्निमाण गर्न पहिलो किस्ता अनुदान लिएका लाभग्राहीमध्य २०७८ असार तेस्रो सातासम्म ७७४ जनाले दोस्रो र ७ सय ३९ जनाले तेस्रो तथा अन्तिम किस्ता भुक्तानी लिएका छन् । समग्रमा म्याग्दी जिल्लामा भूकम्प पिडितका ७५ प्रतिशत निजी आवास पुननिर्माण सकिएको छ ।
भुकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरि अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसैगरी रघुगंगा गाउँपालिका–३ पिप्लेका एक जनाले पनि जग्गा खरिदका लागि अनुदान पाएका छन् ।

बेनी नगरपालिका–४ सिंगाका दुई परिवारलाई जिल्ला सहजिकरण समितिको निर्णय अनुसार सार्वजनिक जग्गामा घर निर्माण गरि बसोबास गराइएको छ । ८२ जना प्रवलीकरण लाभग्राही भएकोमा ४० जना लाभग्राही पुननिर्माणमा परिवर्तन भई घर पुननिर्माण गरेका छन् । भूकम्पपछि सरकारी मापदण्ड अनुसार नक्सा पास गरेर भूकम्प प्रतिरोधी क्षमताका निजी आवास निर्माण हुन थालेका छन् । मापदण्ड अनुरुप घर बने नबनेको परिक्षण गर्न तालिमप्राप्त सरकारी प्राबिधिकहरु गाउँमा परिचालन भएका छन् । सुरक्षित आवासले लाभग्राहीहरुलाई ढुक्क बनाएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार खिवाङ शिख हुदै पर्यटकीय स्थल घोडेपानी नजिकको चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति गर्न बि.स.२०७५ मंसिर देखि आयोजना सुरु गरेको थियो । कच्चि, साँघुरो र ग्रेड नमिलेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, १६ किलोमिटरमा ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, नाली, ह्युम पाइप, कल्भर्ट, सोलीङ बनाउन र कालोपत्रे गर्न बि.स. २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो । यस आयोजनाको हालसम्म ५६ प्रतिशत प्रगति हाँसिल भएको छ ।

Bhautik ministry notice about road

पोखरेबगर देखि घार, खिवाङ हुदै शिखको सिमाना सम्मको ९ किलोमिटर पुर्ण र तीन किलोमिटरमा आंशिक ब्याक कटिङ गरि, १ दशमलक ४ किलोमिटर ढलान, ११ किलोमिटर नाली, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण भएको छ । ७ किलोमिटर दुरीमा कालोपत्रेका लागि सब बेस राखिएको छ । शिख, फलाते र चित्रे खण्डमा पहिलो चरणमा स्काभेटरले ब्याक कटिङ भएको छ ।
मार्ग खुलेको एक दशकपछि स्तरोन्नति सुरु भएको पोखरेबगर–चित्रे सडक सुधार भएपनि निर्माणको धिमा गति मुख्य चुनौति बनेको छ । म्याग्दीको गौरवको आयोजना मानिएको यो सडकको यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीय स्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, घार, शिख, खिवाङ, फलाते, चित्रे, घोडेपानीका स्थानीयबासीलाई आवत जावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ ।

पोखरेबगर–चित्रे सडक आयोजनाबाट प्रभावित क्षेत्रमा पर्ने १८ घरधुरीलाई १९ लाख ९४ हजार चार सय रुपैयाँ मुआब्जा बितरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले सडकको प्रवेशबिन्दुमा पर्ने क्षेत्राधिकार भित्रको घरधनीलाई ब्यवस्थापनमा लगानी गरेर आयोजनालाई अघि बढाउने वातावरण बनाएको थियो । हल्लेखर्क लगायत सडकका विभिन्न ठाउँमा आयोजना निर्माणका क्रममा सिर्जना भएको पहिरो नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत ग्यावीयन पर्खाल निर्माण गरेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा नम्बर ५ को पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा मोटर चल्ने पुल पनि निर्माण गरिरहेको छ । अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमानामा २५ मिटर लामो मोटरेबल पुल बनाउन फेवा–बिएम जेभी पोखराले भ्याट सहित दुई करोड ८१ लाख ७८ हजार ६४६ रुपैयाँमा ठेक्का लिएको थियो । प्राविधिक त्रुटीहुँदा ठेक्का सम्झौता भएको एक वर्षपछि निर्माण सुरु भएको पुलको पाउद्धारतर्फको बिम तयार भएको छ । २२ प्रतिशत भौतिक र ३६ दशमलब ७० प्रतिशत बित्तीय प्रगति भएको छ ।

भूकम्पले क्षति पुगेका १०५ वटा बिद्यालयका ३४४ वटा कक्षा कोठा मध्य १७१ वटा बनिसकेका छन् । बनिरहेका १७३ वटा कोठा अन्तिम चरणमा छन् । २२ वटा दुई कोठे, ९ वटा तीन कोठे र २५ वटा चार कोठे भवन पुननिर्माण भएको हो । २२ वटा शौचालय र दुई वटा खानेपानी आयोजना निर्माण सकिएको छ । २८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माणाधिन अवस्थामा छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भैरहेको छ । पुननिर्माणले बिद्यालयको भौतिक पूर्बाधारमा कायापलट हुन थालेको छ ।

गोरखा भूकम्पले सुरक्षित निजी आवास, सरकारी संरचना र सामुदायिक बिद्यालयको भवन पुननिर्माणको अवसर सिर्जना गरेको छ । नक्सा पास गरेर घर बनाउने, भूकम्प प्रतिरोधी क्षमताको प्रबिधी प्रयोग गर्ने र सार्वजनिक भवनलाई अपाङ्गमैत्री बनाउन थालिएको छ । प्रतिकुल भूगोल, कोरोना महामारी, सामाजिक समस्या र ढिलासुस्ति म्याग्दीमा पुननिर्माणमा देखिएका चुनौति हुन् । निजी आवास, बिद्यालय भवन, सडक र मोटरेबल पुल आयोजना पुननिर्माणको बाँकी काम जति सक्दो छिटो सम्पन्न गराउनतर्फ सबैको सक्रीयता, समन्वय र सहकार्यको आवश्यकता छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...