धौलागिरि खबर

आरक्षणको आरिस किन ?

सरस्वती प्रधानद्वारा रूपा सुनारमाथि भएको जातीय उत्पीडनको घटनाले समाजमा जातीय उत्पीडनका सम्बन्धमा बहस सिर्जना गरेको छ । यो बहसमा नेपाली समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको छ– एउटा प्रतिक्रियावादी कित्ता, अर्को प्रगतिशील कित्ता ।

प्रतिक्रियावादी कित्ता यो वा त्यो बहानामा जातीय उत्पीडनजस्तो अमानवीय व्यवस्थालाई ढाकछोप गर्ने वा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यसको औचित्य पुष्टि गर्ने प्रयत्न गरिरहेको छ भने प्रगतिशील कित्ताले जातीय उत्पीडनका विरुद्ध संघर्षको मोर्चा खोलेको छ । 

०००                                            ०००

Rara Auto Mobiels

‘नानी हाम्रो सिंगोे उमेर विष्टको घरको अनौ थामेरै बित्यो । हाम्रो आफ्नो जमिन कहिल्यै भएन । उनीहरूकै जमिन अधियाँ कज्याउँदैमा हाम्रा जवानी बिते । छोराहरूलाई अरबको घामले कहिल्यै छोडेन । यी फूलजस्ता नातिहरूले अब विष्टको घरको हलोजुवा समाउनु नपरोस् । दुईचार अक्षर चिनून् ।’ मेरो गाउँको एकजना दलित समुदायका वृद्ध काकाको सपना हो यो । उनलाई सबैले हर्के भन्छन् । उनी कथित तल्लो जातको एक प्रतिनिधि पात्र हुन्, जसले वर्षाैँदेखि भोगेका छन् जातीय बहिष्करणको कहालीलाग्दो अन्याय । 

विष्टको घरमा छर्किएको सुनपानीमा उनको आफ्नै अस्तित्व बिलय भइरह्यो । ‘बराजुका पालादेखि यस्तै थियो । मैले पनि यही गर्न‘पर्छ, मेरो धर्म यही हो ।’ उनी भन्थे । सायद मान्छे हुनुको हैसियतलाई धर्मले छोप्ने रहेछ क्यारे ! त्यसैले होला उनले विष्टिनी बज्यैले परबाट फालिदिएको खानालाई आफ्नो भाग्य सम्झिए । तर, जब आज नयाँ पुस्ता यस्तो कुव्यवस्थाबारे खुलेर विरोध गर्न थाले, तब हामीजस्ता कथित उपल्लो जातलाई लाग्न थाल्यो, ‘हामीले उनीहरूलाई आरक्षण दिएकै छौँ । किन हल्ला गरिराछन् ? हामी त उनीहरूलाई आरक्षण दिने दाता हौँ । आरक्षण लिएर उनीहरू चुपचाप बस्नुपर्छ ।’ मानौँ, आरक्षण दिएपछि जति पनि भेदभाव गर्न पाउने लाइसेन्स कथित उपल्लो जातसँग हुन्छ । 

आजको नयाँ पुस्ताको सोच कहाँनिर छ भन्ने केही उदाहरण हेरौँ :

‘आरक्षण पनि लिने र समान हौँ पनि भन्ने ?’ ‘मेरा हजुरबुबाले खुब भेदभाव गरे । मेरा बाको पालामा अलि कम भयो । मेरो पुस्तामा त लगभग हराइसक्यो । परिवर्तन हुँदै छ बिस्तारै । दलितहरूले कति यही छुवाछुतलाई मात्रै आफ्नो मुद्दा बनाउँछन् ? आरक्षण पाएपछि चुपचाप बस्नु नि ।’ 

‘यो आरक्षण भन्ने हटाउनुपर्छ । किनकि जबसम्म दलितले आरक्षण पाइरहन्छ, उनीहरू कराइरहन्छन् । सरकारले नै दलित र गैरदलित भनेर छुट्याएको छ ।’ हो, ठ्याक्कै यही तर्क गर्छ अहिलेको पुस्ताले । मेरो पुस्ताको यस्तो चेतनास्तर देखेर लाज लाग्छ । एक्काइसौँ शताब्दीमा छौँ भन्न पनि सरम लाग्छ । धिक्कार छ यस्तो चेतनालाई । 

मेरो पुस्तालाई आरक्षणको किन यत्रो आरिस ? दलितमाथि भएको वर्षाैँदेखिको अन्याय, भेदभाव र उत्पीडन देख्दैनौँ हामी । केवल मान्छेमा गनिन उनीहरूले सयौँ वर्षदेखि गरेको संघर्ष देख्दैनौँ । केवल देख्छौँ, नौ प्रतिशत आरक्षण लिएको । आफूले टुप्पी कसेर पढेको मात्रै ठूलो लाग्छ हामीलाई । उनीहरूलाई व्यवस्थाले दिएको युगौँ पुरानो घाउ देख्दैनौँ हामी । 

राज्य संरचनाको पिँधमा पारिएको जात, लिंग, समुदाय, भूगोल आदिलाई राज्यको मूलधारमा ल्याई समाजमा समानता कायम गर्न ल्याइएको अवधारणा हो आरक्षण । यो अवधारणा आफँैमा सुन्दर अवधारणा हो, जसले राज्य संरचनाको पिँधमै दबिएकाहरूलाई अलिकति भए पनि उठाउन सहयोग गर्छ । कथित उपल्लो जात (जो हुने खाने पनि हुन्)को हालीमुहाली भएको क्षेत्रमा पिँधमा परेकाहरू माथि उठ्न पाउनेछन् । तर, के आरक्षणले मात्र वर्षाैँदेखि सामाजिक बहिष्करणमा परेका, न्यायबाट टाढा राखिएका उनीहरूलाई राज्यको मूलधारमा ल्याउन सम्भव छ ? जसका लागि आरक्षणको व्यवस्था गरिएको हो कतिपय ठाउँमा उनीहरू नै किन यसबारे अनभिज्ञ छन् ? संरचनात्मक लाभांश पाएका हामी सबैको दायित्व होइन र उनीहरूलाई सहयोग गर्ने ? 

कथित उच्च जातका घरका छोराछोरी जब तेह्रौँ वसन्त पार गर्छन् तब घरबाटै सुरु हुन्छ, ‘फलानोको छोरी÷छोराले जस्तो इज्जत नफालेस् । आफ्नो जात भनेको आफ्नै जात हो । तल्लो जातसँग लसपस गर्ने होइन । हाम्रो नाक काटिन्छ ।’

मेरो पुस्तालाई आरक्षणको किन यत्रो आरिस ? दलितमाथि भएको वर्षाैँदेखिको अन्याय, भेदभाव र उत्पीडन देख्दैनौँ हामी । केवल मान्छेमा गनिन उनीहरूले सयौँ वर्षदेखि गरेको संघर्ष देख्दैनौँ । केवल देख्छौँ, नौ प्रतिशत आरक्षण लिएको ।

मलगायत समाजका कथित उच्च जातका छोराछोरीहरू प्रायःले पाउँछन् यो आदेश । कहिलेसम्म हामीले परिवारको नाक काटिने डर बोकेर हिँडिरहने ? त्यो अभिमानी लामो नाकको कहिलेसम्म हामीले जिम्मा लिइदिनुपर्ने ? कथित उपल्लो जातको सान ठानिएको नाकको जिम्मा अब हामी लिइरहन सक्दैनौँ । 

जबजब विभेदविरुद्ध आवाजहरू उठ्न थाल्छन्, कलमहरू सलबलाउन थाल्छन् तब हामीलाई लाग्छ यिनीहरूले शान्त समाज बिथोल्ने भए । अरे ! हिजो उनीहरूले विभेद सहेका थिए । आवाज उठाउने हिम्मत जुटाएका थिएनन् र तपाईंलाई लागेको हो समाज शान्त थियो । कहिलेकाहीँ लाग्छ क्रान्तिकारी चेतनाको एक हुन्डरी चलोस् र बिथोलिदेओस् समाजको मौनता । उडाएर निकै पर पुर्‍याओस्, मेरो जातको जातीय अहंकार ।

‘जब कुनै पनि व्यक्ति, जाति या वर्ग आर्थिक रूपले कमजोर हुन्छ तब उसलाई समाजले स्वतः हेयको दृष्टिले हेर्न थाल्छ । जातीय हिंसाका कतिपय घटनाहरूलाई कमजोर आर्थिक अवस्थाले पनि प्रभाव पारेको छ । विभिन्न तथ्यांकहरूले पनि देखाउँछ, गरिबीको रेखामुनि आज पनि अधिकांश कथित दलितहरू नै छन् । त्यसकारण आरक्षणलाई निरन्तरता दिँदै, उनीहरूका आर्थिक हैसियत उकास्ने खालका प्रभावकारी योजनाहरू सरकारबाटै ल्याउनुपर्छ । जातीय विभेदविरुद्ध देशव्यापी बहस छेडिनुका साथै विभिन्न चेतनामूलक कार्यक्रमहरू ल्याउनु जरुरी छ । जसले आमसर्वसाधारण जनतासम्म पुगेर बुझाउन सकोस्, यी विभेदबारे र हरेक ठाउँमा बहस छेड्ने क्षमता राखोस्, ताकि उकासियोस् चेतनाको स्तर ।

साहित्यिक, राजनीतिक र विभिन्न क्षेत्रहरूबाट यसको विरुद्धमा प्रभावकारी काम गर्न सकियो भने मनोविज्ञानमा हाबी भएको जातिय अहंतालाई कम गर्न सक्नेछौँ । सँगसँगै यस्ता विभेदका मुद्दाहरूलाई कुनै जातको मात्र नभई आमजनताका साझा मुद्दा मान्न सकियो भने परिवर्तन सम्भव छ ।

छिट्टै हर्के काकाको नातिले विष्टको घरको हलोजुवा फालेर लोकसेवा आयोगको परीक्षा पास गरोस् । त्यस दिन उसलाई खुसीले हात मिलाउन पाइओस् । त्यसवेला मलाई ऊ देखेर पटक्कै आरिस लाग्नेछैन । म आमालाई बुझाउन सकूँ, ‘आमा, हर्के काकाकी श्रीमतीले हाम्रो घरको मलको डोको नबोकिदिएकी भए, के थाहा तिम्री छोरी पनि त तिमीजस्तै पछुताउँदी हो नि पढ्न नपाएकोमा ? अब त हाम्रो जातको अभिमान त्यागिदिऊँ न है ?’ अनि बा ! भन्न सकूँ, ‘तपाईंको मानसिकतामा उच्च जात हुनुको अहं कहिलेसम्म ? सके अरूलाई नि बुझाउँला नसके पनि हामी त छुवाछुतमुक्त परिवार बनौँ न है ? हुँदैन र ?’ यो सबै यथार्थमा बदलिएको दिन मात्रै ढोँगी कथित उपल्लो जात बल्ल मान्छे बन्नेछ ।

म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमकी आरती आचार्यले लेखेको यो लेख शनिबारको नयाँ पत्रिकाको अंकबाट साभार गरिएको हो ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...