कालीगण्डकीको बाढीले बेनीको तटबन्ध बगायो, एक सय बढी घरलाई सुरक्षित ठाउँमा सारियो (भिडियो सहित)

Sinchai Khanipani notice

बेनी, बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी सहित चार वटा मुख्य बजार कटानको उच्च जोखिममा परेका छन् ।

कालीगण्डकीमा आएको बाढीले बेनीको कालीपुल, संगमचोक, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी, म्याग्दी नदीको बाढीले मालिका गाउँपालिकाको केन्द्र दरवाङ्ग बजार र बेनी नगरपालिका–४ तातोपानीको मसारमा कटान गर्न थालेको छ ।

बेनी नगरपालिका–८ संगमचोकको पछाडी र कालीपुल बसपार्क क्षेत्रमा मंगलबार राती कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।

Shreekrishna hardwear in news

‘तटबन्ध भत्काएर बजारतर्फ कटान सुरु गरेको छ,’ उनले भने ‘तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।’ रुपाताल एकिकृत बिकास संरक्षण परियोजना मार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्कि तथा ग्यावियन पर्खाल निर्माण गर्दै आएको छ ।

तटबन्ध भत्किएपछि कालीगण्डकीको भंगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी नगरपालिकाको वडा न. ७ र ७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधरीको बसोबास छ । ३० भन्दा बढी सरकारी कार्यालयका भवन छन् ।

गत शनिबार कुरीलाखर्क, महारानी थान देखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मंगलाघाटमा रहेको बन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका ७ वटा भवनसँगै नर्सरीमा क्षति पु¥याएको थियो ।

जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कमा क्षति पु¥याएको छ । क्याम्पसचोकमा आएको बाढी देबेन्द्र पौडेलको ग्यारेजभित्र बसेर क्षति गरेको छ । कालीपुलका ब्यापारी रुद्र सुबेदीले बाढी तर्काउदाँ तर्काउदै रातभरी जाग्राम बसेको बताए । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएको छ । नगरपालिकाले ब्याकुहोलोडर परिचालन गरेर बाढी तर्काउने काम गरिरहेको छ ।

केही दिनदेखिको निरन्तरतको बर्षातपछि कालीगण्डकी, म्याग्दी र राहुघाट लगायत म्याग्दीका मुख्य र सहायक नदीहरुमा बाढीको सतहले खतराको तह नाघेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा गएको पहिरो मिसिने मुख्य नदीहरुमा बाढीको आयटन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

‘कटान, बाढी र पहिरोले सदरमुकाम बेनीसँग ग्रामिण बस्तीका साथै प्रदेश राजधानी पोखरासँग सिधा यातायात सम्पर्क बिच्छेद भएको छ,’ उनले भने ‘स्थानीय तह र प्रहरीले जोखिमयुक्त ठाउँका मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको छ ।’ प्रजिअ अधिकारीका अनुसार पहिरोमा घाइते भएका अन्नपूर्ण गाउँपालिकाका २ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

कालीगण्डकीमा आएको बाढीले तटबन्ध र पक्कि पर्खाल नाघेर बस्ती तर्फ कटान गर्न थालेपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा प्रहरी चौकी सहित करिब २० घर जोखिममा परेका छन् ।

Bhautik ministry notice about road

भुरुङ्ग–तातोपानीको नागढुङ्गा क्षेत्रमा बेनी–जोमसोम–कोरला सडक आयोजनाद्धारा नदी किनारमा निर्माणाधिन पक्कि पर्खालमा बाढीले क्षति पु¥याएको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एक वटा घर र जनप्रिय माविको दुई कोठे भवन म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको वडा अध्यक्ष सन्तोष सुबेदीले बताए ।

तोलावाङमा पनि एक वटा घर बगाएको उनले बताए । ‘गाउँपालिकाले बिनियोजन गरेको. असी लाखको ठेक्का मार्फत नदी नियन्त्रणको काम सुरु गर्न ढिलाई हुँदा दरबाङमा कटान भएको हो,’ उनले भने ‘उच्च जोखिममा रहेका तल्लो दरबाङ बजारका ६ घरलाई सुरक्षित ठाउँमा सारिएको छ ।’

म्याग्दी नदीले तटबन्ध भत्काएर बस्तितर्फ कटान गर्न थालेपछि बेनी नगरपालिका–४ को मसारका १४ घरका मासिन तथा सामानलाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोको जोखिममा रहेका धवलागिरी–२ खोरियाका १३ घर परिवारलाई बिद्यालय र सामुदायिक भवनमा सारिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

अन्नपूर्ण गाउँपालिका–५ घोस्केखोरमा ७, स्वातमा ३ र पाउद्धारमा २ घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए । एक वटा गोठ पहिरोले पुरिएको छ । ‘पहिरोले क्षति पु¥याएका र जोखिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने ‘सँयौ रोपनी खेतियोग्य जमिनमा क्षति पुगेको छ ।’

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टिकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर बिस्थापित भएका छन् । घरभित्र पहिरो पस्ने, आगन भत्किने, गोठ पुरिएको स्थानीय शिक्षक खेम पुनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी नगरपालिका–२ बगरफाँटमा ९ र वडा नम्बर ९ सल्लेरीमा ४ घरपरिवार बिस्थापित भएका छन् । यसैगरी बेनी नगरपालिका–४ डाडाखेतमा तीन परिवार बिस्थापित भएका छन् ।

बेनी नगरपालिका–१ रत्नेचौर र मंगला गाउँपालिका–२ तल्लो डडुवामा एक÷एक वटा घर भत्किएका छन् । बेनीको ६ नम्बर वडाको डम्मरामा दुई र अर्थुङ्गेमा एक घर, रघुगंगाको ४ नम्बर वडा दग्नाममा ३ घरलाई सुरक्षित ठाउँमा सारिएको छ ।

म्याग्दीमा गत वर्षको बर्खामा बाढी पहिरोबाट ३१ जनाको मृत्यु र ४ जना बेपत्ता भएका थिए । २४७ वटा घर पूर्ण रुपमा भत्किएका र पहिरोले बगाएको थियो । ८१ वटा बस्तिका सात सय बढी घर पहिरोको जोखिममा छन् । गत बर्षको पहिरोले क्षति पु¥याएको निजी आवास र सार्वजनिक पूर्बाधारको पुननिर्माण नसकिदै सुरु भएको बर्षातले थप क्षति गर्न थालेको हो ।


Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...