गलेश्वर–बेगखोला सडकमा धमाधम काम (फोटो फिचर)

Sinchai Khanipani notice

बेनी । कोरोना महामारी र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बावजुद बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक निर्माणको काम धमाधम भैरहेको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला जोड्ने सडकको संरचना, ढलान र कालोपत्रेको कामले तिब्रता पाएको हो ।

निषेधाज्ञा र कोरोनाको जोखिमले जिल्लाका अधिकांश आयोजना प्रभावित भइरहेका बेला गलेश्वर बेगखोला खण्डको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कुनौटा देखि बैसरी सम्म कालोपत्रे गर्न प्राइम कोड (बिटुमिन) राखेको छ ।

Shreekrishna hardwear in news
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको कुनौटामा सडक कालोपत्रे गर्न सोमबार प्राइम कोड बिछ्याइदै । तस्बिर धौलागिरी खबर

ओमकारेश्वरका सञ्चालक अमृत दाहालले मौसमले साथ दिएमा केही दिनमै दोस्रो कोड राख्ने तयारी गरेको बताउनुभयो । उहाँले बैसरीदेखि राहुपारे खण्डको बिचमा पर्ने अधेरीखोलाको झरना क्षेत्रमा ८० मिटर सडक ढलानको काम भैरहेको बताउनुभयो ।

बैसरी राहुपारे खण्डमा पनि बेस र सब बेस राखेर रोलरले पेल्ने काम भैरहेको दाहालले बताउनुभयो । राहुपारे–अम्बाङ–घुमाउनेताल र तिल्केनीचौर क्षेत्रमा पनि सडक बिस्तार गरेर बेस र सब बेस राख्ने काम भइरहेको छ । गलेश्वर देखि बेगखोला सम्मको ६ किलोमिटर सडक असारभित्रै कालोपत्रे गर्ने काम सक्ने लक्ष्य राखिएको छ ।

सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्रे गर्ने तयारी भएको हो । कोरोना महामारी र रोकथामका लागि गरिएको निषेधाज्ञाका बावजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदुर, उपकरण र निर्माण सामग्री जुटाएर कालोपत्रे गर्न लागिएको निर्माण ब्यवसायीले बताएका छन् ।

११ मिटर फराकिलो बनाइएको सडकको सात मिटर चौडाईमा डिबिएसडी प्रबिधीको कालोपत्रे गरिने बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनियर आषिश मानन्धरले बताउनुभयो । “डिबिएडीमा तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ,” उहाँले भन्नुभयो “ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रबिधी अपनाइएको छ ।”

सडकको अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण गरिएको छ । मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ फागुन देखि ओमकारेश्वरले जिम्मा लिएको थियो । ओमकारेश्वरले जिम्मा लिएपछि कामले तिब्रता पाएको हो । गत वर्षनै कालोपत्रे गर्ने तयारी गरिएपनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो ।

Bhautik ministry notice about road

बि.स. २०७४ साउन देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु. ६ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ ।

७ प्याकेजको जोमसोम–कोरला खण्डको ४ वटा प्याकेजको काम निर्माण सकिएको छ । आयोजना अन्तरगतकै बेनी नगरपालिका ९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रेको तयारी भएको छ । बेनी–जोमसोमको तेस्रो प्याकेजको कोवाङ–कैकु खण्डको १८ किलोमिटर सडक पनि धमाधम कालोपत्रे भइरहेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।


कोशी–न्यौपाने–पप्पु जेभीले ठेक्का लिएको ४ नम्बर प्याकेजमा पर्ने कोवाङ देखि जोमसोम सम्मको १८ किलोमिटर सडक पनि केही दिनमै कालोपत्रे गर्न लागिएको छ । बेनी–जोमसोमको तीन वटा प्याकेजमा असार अघिनै कालोपत्रे गर्ने तयारी भएको आयोजनाका सूचना अधिकारी यादवले बताउनुभयो ।

शर्मा गजुरमुखीले ठेक्का लिएको म्याग्दीको जलथले देखि मुस्ताङको कैकुखोला सम्मको दोस्रो प्याकेज अन्तरगतको अधिकांश ठाउँमा पनि कालोपत्रेको तयारी भएको छ । १६ दशमलब ५ किलोमिटर दुरीको यो प्याकेज अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

गलेश्वर, महभिर र पोखरेबगरको बेलिब्रिज बिस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टा–छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तिन अर्ब चालीस करोड रुपैया लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई वटा प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मायुनाईटेड जेभीले लिएको थियो । बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ ।

वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा थियो । २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि ढिलासुस्तिले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ ।

सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...