धौलागिरि खबर

नारच्याङ्गको सामाजिक जनजीबन

राम कुमार खड्का
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ्गको लेक र बेशी गाँउको बीचमा सदियौं देखि अन्योन्यास्रित सम्बन्ध रहिआएको छ । लेकगाउँको बर्णन गर्दा बेशीगाउको प्रशंग जोडिन्छ । यी दुवै एक सिक्काका दुई वटा पाटाहरु हुन । यी दुवै गाउँका बासिन्दा एकै हुन । लेकगाउँ पुरानो वस्ती हो भने बेशी गाउँ नयाँ । भौगालिक सुखसुविधाको लागि लेकालीहरु बेशी झरेका हुन । तर पनि लेकमा खेतीपाती, घरबसोबास कायमै छ । लेकालीहरु बेशी गाउँलाई औलो भन्दा रहेछन् । हावापानीको लागि लेकगाँउ औलो भन्दा अव्वल छ । बुढाबुढीहरु बेशी भन्दा लेकमानै बस्न रुचाउँदा रहेछन् । हिमाली दृश्यावलोकन, हरियाली वातावरण, बाहृैमास चिसो हावापानी यहाँको भौगोलिक विशेषता हुन । यी दईमा ७०० मी.को फरक रहकोे छ । औलो सामुन्द्रिक सतहबाट १३०० मीटर, लेक २००० मीटरको उचाईमा रहेको छ ।

औलो र बेशी दुवैमा पुन मगरको बस्ती रहेको छ । घरका बनावट उस्तै लाग्छन् । ढुङ्गाको गारो, ढुङ्गाको पर्खाल, ढुङ्गाकै छाना, कति सुन्दर घर–घर टाँसिएर बनेका झुरुप्प बस्ती । यस्ता सुन्दर घर बनाउने मगर कालीगढ कति महान । यहाँको धर्म, रहनसहन, कला संस्कृति अनुपम लाग्छन् । प्राकृतिक वातावरण, सुन्दर बस्ती, अनुपम धर्म संस्कृतिको रस्वास्वादन गर्न यी बस्ती निकै लायक छन् । यी बस्तीमा पुग्न कस्लाई पो मन लाग्दैन र पोखराबाट बिहान हिंडे बेलुका सवेरै पुगिन्छ । तातोपानीबाट पाँचै मिनेट हिंडेर पुल तरेपछि नारच्याङ्ग औलो आइहालियो । औलो गाउँकै भित्ताामा कत्ति सुन्दर छहरा नागबेली परेर नाचिरहेकी छन् । लाग्दछ कि स्वर्गकी अप्सरा झैं रात दिन मुस्कुराउँदै, नाच्दै ओैलोलाई रातदिन जगाइरहेकी छन् । यो सुन्दर झरना ओझेलमा परेकी छन् । यीनको कहीं प्रचार छैन । यही झरनालाई हेर्दै हेर्दै अगाडि बढेमा फेदी पुगिन्छ । फेदीबाट उकालो लागेपछि एकै घण्टामा लेक पुगिहालिन्छ नि ।

Rara Auto Mobiels

यहाँका मगरहरु भाषिक शोषणमा परेका रहेछन् । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्नु भन्दा पहिला यस भेगमा राजकाज संचालन गरेका मल्ल ठकुरीले आफ्नो प्रभाव कायम राख्न मगर भाषा बोल्न प्रतिबन्ध लगाएकोले मगर भाषाको लोप हुन गएको यहाँको स्थानीयहरुको भनाई रहेको पाइयो । यति विध्न कला, धर्म संस्कृतिका धरोहर पुन मगरहरुको आफ्नै भाषा भइदिएको भए सुनमा सुगन्ध हुने थियो । नेपाली राष्ट्रिय भाषानै यीनीहरुको आफ्नो भाषा हो । यो भाषा बोल्ने लवज र शैली भने फरक पाइयो । बोलीचालीको भाषामा र,नि,पो जस्ता निपात शव्दको अत्यधिक प्रयोग गर्दछन् । लामो शव्दावलीमा वीचको शव्द लोप गरि बोलिन्छ । केही केही शव्द नयाँ पनि लाग्दछन् । कहाँ जानु हुन्छ,जान्छौ,जान्छस् ? को पश्न गर्ने तरीका कहाँजानु हुन्छ र, कहाँ जान्छौ र कहाँ जान्छस् र? हुन्छ भने प्रत्युत्तरमा एकदम छोटकरी रुपमा दोकानमै, अफीसमै, तातोपानीमै आदि हुन सक्छन् । बोल्दा ढिलो गरि बोलिन्छ भने उत्तर छिटो गरि दिइन्छ । बोलीको लवज हाउभाउ मिठो लाग्दछ । अलिअलि प्रयोग हुने शव्दावलीको ठाउँमा अललि भनेर बोलिन्छ । खानालाई भाततिहुन, खाजालाई अरनि, अचारलाई छोप, भटमासलाई भट्ट, गाईबस्तुलाई डिङ्गा बोलिन्छ । दिदिलाई देही भन्दा रहेछन् । कठैबरा भन्नु परेमा लामो पाराले बरठा भन्दा रहेछन् । धेरैलाई सस्तै बोल्दा रहेछन् । नारच्याङ्गका यी जनबोलीहरु निकै घतलाग्दा मनपर्दा छन् ।

नारच्याङ्गको खानाको बयान के गरौ, सतप्रतिशत अर्गानिक खाना खान पाइन्छ । नेपाली राष्ट्रिय खानानै यहाँको मुख्य खाना भएपनि यसमा विविधता पाइन्छ । नारच्याङ्गको बेशी गाउँमा मकै, कोदो, भटमास, सिमी खेती सस्तै हुन्छ । लेक गाउँमा यसको अलावा फापर, जौ, आलुको खेती सस्तै हुन्छ । धान खेती भने एकदम कम हुन्छ । खाद्यबालीको उत्पादन गर्दा रासायनिक मलको प्रयोग गरिंदैन । बनजंगल धेरै भएकोले पशुपालन फस्टाएको छ । गोवरमलको प्रयोगबाटनै खाद्यबस्तुको उत्पादन गरिन्छ । आजको खुल्ला बजारको युगमा नारच्याङ्गमा चामलले प्रबेश त पायो, नयाँ पुस्ता खुशी छन् तर पनि बुढाबुढी पुराना पुस्ता भने ढिडों खान खुवै मन पराउँदछन् । नेपाली राष्ट्रिय खाना ढिडों र गुन्दु्रक लोप हुने अबस्था भए पनि यहाँ भने प्रचलनमै रहेको पाइयो । ढिडोको परिकारमा विविधता पाइन्छ । फापरको ढिडो, मकैको ढिडो,जौको ढिडो,कोदोको ढिडो र यी सवैको एकमुष्ठ स्वादिष्ट ढिडो । तिहुन (तरकारी)मा पनि धेरै विविधता पाइन्छ । घरायसी तरकारीको अलावा यहाँका जंगलहरुमा जंगली तरकारीको प्रचुरता पाइन्छ । जुन सतप्रतिशत अर्गानिक हुन्छ । खोलाखाली तथा ओसिलो पाखामा पाइने कर्कलो जातीको एक प्रजाती ढकायो गुन्दु्रक बनाउन जंगलबाट संकलन गरिन्छ । प्राकृतिक रुपमा यहाँका जंगलहरुबाट निङ्गरो, लसुने साग, दुङदुङे साग, खिरम्ला, जंगली च्याउ जस्ता विविधखाले तरकारी प्राप्त गर्न सकिन्छ । बर्षात ऋतु शुरु भए पछि नारच्याङ्गेली जंगली तरकारी संकलन गर्न र्यालेखोला, भित्री बनतिर लाग्दछन् । साउन महिनामा टुसा संकलन गर्दछन् । निङ्गालाको नयाँ मुनालाई टुसा भनिदो रहेछ । जुन निकै स्वादिष्ट हुन्छ । साउने संक्रान्तिमा टुसा खाने चलन रहेछ । आफ्ना आफन्तलाई पनि कोशेली टुसानै लिएर जाने पुरानो चलन रहेछ । यहाँको भिरपाखामा पाइने अमिलोको एक प्रजातीबाट छोप बनाइन्छ जुन धेरै अमिलो हुन्छ । ढिडो, ढकायोको गुन्दु्रक, छोप र भट्टनै यहाँको प्रमुख खाना हो भन्दा फरक नपर्ला । ढिडोको साथमा भट्ट खाने चलन भने अनौठो लाग्यो ।

नारच्याङ्गेलीहरुको (मगर समुदाय) सामाजिक जनजीबन अरु समुदायको लागि अनुकरणीय छ । एकले अर्कालाई आदर सम्मान दिने, भाइचारा र सहअस्तिव्मा विश्वास राख्ने समाज हो यो । बोल्दा पनि एक अर्कामा दाई, भाईृ फुपु, पुसाइृ ,साला, जेठान, मामा, माइजु जस्ता साइनो लगाएर बोल्ने चलन रहेछ यहाँ । नौलो कुरा त यहाँ सासुआमालाई माइजु र ससुराबालाई मामा भनेर सम्बोधन गरिदाें रहेछ । सामाजिक सम्बन्ध र एकताको लागि बलियो समाज रहेछ मगर समाज । सामाजिक विकास र सहकार्यको लागि एकजुट हुने चलन रहेछ । मठमन्दिरको निर्माण तथा मर्मत संभार, पाटी चौतारोको स्थापना, बाटोघाटोको निर्माण तथा मर्मत संभार, विद्यालय, स्वास्थ्य चौकी जस्ता सामाजिक भवनहरुको निर्माण आदि जस्ता सामाजिक विकास तथा धार्मिक कार्यमा एकजुट भई जनश्रमदान गरिंदो रहेछ । यसलाई झारा पनि भनिन्छ । झारा भनेको यहाँको पुरानो प्रचलन हो । यसबाट सामाजिक तथा धार्मिक कार्यमा सहयोग पुगेको छ । झारा नदिनेलाई सामाजिक दण्ड पनि रहेको छ । मृतक बाबुआमा, बाजे बजैको नाममा छोरा नातीले पाटी, चौतारो बनाउने चलन पनि रहेछ यहाँ ।

समाजको कुनै सदस्यको मृत्यु भएमा मृतक परिवारलाई काजक्रियाको अबधिमा कोरा मानो दिने चलन रहेछ । चामल, घिउ, फलफुल र भेटी दिने चलनबाट मृतक परिवारलाई काजक्रिया सम्पन्न गर्नको लागि ठूलो सहयोग पुग्ने गर्दछ । साथै क्रियापुत्रीको घरमा रात काट्ने चलन पनि रहेछ । मानसिक पीडामा रहेको समयमा रात काट्ने कार्यले क्रियापुत्री तथा मृतक परिवारलाई सान्त्वना मिल्ने गर्दछ । रात काट्न बसेकाहरुले मृतकको घरमा गएर क्रियापुत्रीलाई सहज होस भनेर भजन र्कितन गर्ने, साथै दुःख विर्साउन पुरानो भाकामा गित गाउने गर्दा रहेछन । मलामी गएकाहरुलाई अन्तिम दिनमा बोलाएर प्रसाद खुवाउने गर्दछन् । छेवरपास(ब्रतबन्ध), बिबाह जस्ता कार्यमा पनि भेटी दिने प्रथा नौलो भएपनि आर्थिक रुपमा राहत मिलेको देखिन्छ । योे सामाजिक एकता, भाइचारा र सहअस्तित्वको बलियो जग मानिन्छ । लेक र औलोको भौगोलिक विषमतामा यस्ता खाले समानताले गहिरो सम्बन्ध एकता र सहअस्तित्मा गाँसेको पाइयो ।

            लेखक म्रिस्तीखोला जलविद्युत आयोजना वातावरण इकाईका प्रमुुख हुनुहुन्न्छ ।

Khanipani
प्रतिक्रिया दिनुहोस
Loading...