कोरोना संक्रमितको संख्या घट्न थाल्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमित निको हुने दर बढ्दो र नयाँ संक्रमित घट्दै गएका छन् ।

निषेधाज्ञाका कारण आवत जावत र जमघट हुन नपाएको, परिक्षणको दायरा बढेको, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गरिएको र नागरिक स्तरमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको सचेतनाले कोरोना संक्रमितको संख्या घट्न थालेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जेठ पहिलो हप्ता उच्च संख्यामा रहेका संक्रमितको संख्या पछिल्लो एक हप्तायता क्रमश घट्दै गएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“बिहिबार ५५३ र शुक्रबार ५०१ जना सक्रीय संक्रमित भएको म्याग्दीमा शनिबार १८८ जनाले कोरोना जितेर सक्रीय संक्रमितको संख्या ३३६ जनामा झरेको छ,” उहाँले भन्नुभयो “बिहिबार ७४ जना नयाँ संक्रमित थपिएको म्याग्दीमा शुक्रबार ११ र शनिबार २३ जनामा संक्रमण पुष्टि भएको छ ।”

म्याग्दीबाट संकलन गरेर परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाइएको ४६ वटा स्बाव नमुनाको नतिजा आउन बाँकी छ । हालसम्म एक हजार ८८० जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा शनिबार बेनी नगरपालिका ३ की ८४ वर्षीया महिला सहित करिब ४० जनाको मृत्यु भएको छ ।

कोरोना रोकथामका लागि गत बैशाख २२ गते रातीदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक जेठ १७ सम्मका लागि लागु गरिएको छ । कोरोना संक्रमण दर घट्न थालेपछि निषेधाज्ञाको मोडेल परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

Bhautik ministry notice about road

पछिल्लो समय सदरमुकाम बेनी बजारभित्र नयाँ संक्रमित भेटिने क्रम घटेपनि दुर्गम क्षेत्रका बस्तीहरुमा कोरोनाको संक्रमण पुगेको छ । स्थानीय तहका स्वास्थ्य शाखाहरुका अनुसार ४५ वटा वडा रहेको म्याग्दीका ४१ वटा वडामा कोरोना भाइरसको संक्रमण भेटिएका छन् ।

धवलागिरी गाउँपालिकाको गुर्जा र मल्कवाङ, मालिकाको बिम र अन्नपूर्णको राम्चेमा कोरोना संक्रमित नभेटिएको स्वास्थ्य शाखाका संयोजकले बताएका छन् । धवलागिरीकी स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीले गुर्जा र मल्कवाङमा लक्षण देखिएका बिरामी नभएकाले अहिलेसम्म परिक्षण नगरिएको बताउनुभयो ।

अन्नपूर्णका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले राम्चेमा परिक्षण गरिएपनि संक्रमित नभेटिएको बताउनुभयो । मालिकाको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले पनि वडाभित्र रहेका नागरिकहरुलाई अहिलेसम्म कोरोना संक्रमण नदेखिएको बताउनुभयो ।

अनावश्यक आवत जावत, भेला, जमघट हुन नदिएको र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिएकाले अहिलेसम्म कोरोनाबाट सुरक्षित बनाउन सकेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दीमा पिसिआरको नतिजा आउन ढिला हुने भएकाले संक्रमित पहिचान गर्न एन्टिजेन परिक्षणको बिधीलाई जोड गरिएको छ । प्रदेश सरकारले म्याग्दीमा पठाएको सात हजार मध्य छ वटा पालिकालाई आठ÷आठ सय एन्टिजिन किट उपलब्ध गराइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पालिकाका स्वास्थ्य कर्मीले कोरोना अस्पताल र स्वास्थ्य संस्था तथा टोल टोलमा पुगेर लक्षण देखिएकाहरुको परिक्षण गरिरहेका छन् । बेनी अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले साताअघि भरिभराउ आइसोलेशनका शैया केही दिनयता खाली हुन थालेका बताउनुभयो ।

बेनी अस्पतालमा २५ शैयाको आइसोलेशन सञ्चालन भएको छ । अन्नपूर्णमा २५, रघुगंगामा २०, मालिकामा २५, मंगलामा ५ र धवलागिरीमा १५ शैया क्षमताको आइसोलेशन सञ्चालन गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण उन्मुख देखिएनि तेस्रो लहरको भेरियन्ट भित्रिन र फैलिन नदिन नयाँ रणनीति बनाउन जुटेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...