कोरोना चेन ब्रेक गर्न के गर्दैछन म्याग्दीका पालिकाहरु

Shreekrishna hardware

बेनी, म्याग्दीका स्थानीय तहहरुले कोरोना अस्पताल पुनःसञ्चालन गर्न थालेका छन् ।

गत कात्तिक÷मंसिर महिनामा स्थानीय तहहरुले स्थापना गरेको आइसोलेशन र कोरोना अस्पताल कोरोना संक्रमित नभएका र नियुक्त गरिएका स्वास्थ्यकर्मीको करार म्याद सकिएपछि बन्द भएका थिए ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक, स्वास्थ्यकर्मी ब्यवस्थापन गरेर पुन सञ्चालन गर्न थालेका हुन् । बेनी नगरपालिकाले बेनी अस्पताल परिसरमा निर्माणाधिन भवनमा २० शैयाँ क्षमताको आइसोलेशन निर्माण गरिरहेको छ ।

Shreekrishna

यसअघि शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेशनका सामग्रीको प्रयोग गरेर अस्पताल परिसरमा केही दिनमै आइसोलेशन सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले बताउनुभयो । नगरपालिकाले बेनीको हिलसाइड स्थित माउन्ट एभरेष्ट आवासीय माबीको पुरानो भवनमा प्रिआइसोलेशन सञ्चालन गरेको छ ।

धवलागिरी, मंगला र रघुगंगा गाउँपालिकाले यसअघि स्थापना गरिएको पाँच÷पाँच शैया क्षमताको कोरोना अस्पताललाईनै निरन्तरता दिएका छन् । धवलागिरीको ताकममा कोरोना अस्पताल र घट्टेखोलामा आइसोलेशन तयार छ । धवलागिरीले कोरोना अस्पतालका लागि नियुक्त गरेका चिकित्सक र नर्सको सेवा करार थपेर राखेको थियो ।

मंगला गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोकाले अर्मन स्वास्थ्य चौकीमा स्थापना गरिएको पाँच शैया क्षमताको कोरोना अस्पताल संक्रमित देखिन थालेपछि पुनसञ्चालन गरिएको बताउनुभयो । मंगलाको कोरोना अस्पतालमा हाल एक जना संक्रमितलाई राखेर उपचार गरिएको छ ।

रघुगंगा गाउँपालिकाले पिप्लेमा स्थापना गरेको कोरोना अस्पताललाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । मालिका गाउँपालिकाले जनप्रिय माविको भवनमा गत कात्तिकमा स्थापना गरेको कोरोना अस्पताल र आइसोलेशन तीन महिनापछि हटाएको थियो ।

मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले छ्यारछ्यारेको सभाहलमा २० शैया क्षमताको आइसोलेशन निर्माण गरेको जानकारी दिनुभयो । दरवाङ प्राथमिक केन्द्रका चिकित्सक र पुर्बाधारको प्रयोग गरेर कोरोना संक्रमितको उपचार गरिने उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेर छाडेको भवनमा स्थापना गरेको कोरोना अस्पताल पुनःसञ्चालन गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले २० शैयाको आइसोलेशन बनाएको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

तत्काल मौजुदा स्वास्थ्यकर्मीबाट सञ्चालन गरिने कोरोना अस्पतालका लागि चिकित्सक र नर्स नियुक्त गर्न लागिएको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना अनुसार पालिका स्तरमा स्थापना भएको कोरोना अस्पतालमा औषधी, अस्सिजन सिलिण्डर, बेड बिस्तारा लगायतका स्वास्थ्य सामग्री ब्यवस्थापन गरिएको छ ।

प्रत्येक पालिकालाई तीन महिनाका लागि एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गर्न मन्त्रालयले बजेट पठाएको थियो । कोरोना अस्पताल स्थापना र सञ्चालन गर्न मन्त्रालयले म्याग्दीका ५ वटा स्थानीय तहलाई रु. दश÷दश लाख पठाएको थियो ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा हाल सक्रीय कोरोना संक्रमितको संख्या १६० जना छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले करिब १५ दिनको अवधीमा करिब दुई सय जना संक्रमित भएका बताउनुभयो ।

‘‘जनस्वास्थ्य मापदण्ड पालना नगरि भएका भोजभतेर, मेलाजात्रा, पुजापाठ र घुमघामका कारण कोरोना संक्रमण फैलिएको हो,’’ उहाँले भन्नुभयो । हालसम्म जिल्लाभर ४७५ जना संक्रमित भएका छन् । सात जनाको मृत्यु भएको छ । संक्रमित मध्य अधिकांश होम आइसोलेशनमा बसेका छन् । यसअघि सदरमुकाम बेनी बजारका संक्रमित धेरै भएकामा अहिले ग्रामिण क्षेत्रका संक्रमित बढी छन् ।

सिंगा तातोपानी, दरवाङ, बाबियाचौर, कुहुँ, अर्मन, ताकम, लुलाङ, पिप्ले, भगवति, पोखरेबगर, घोडेपानी, भुरुङ्ग–तातोपानी लगायत ग्रामिण क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमण फैलिएसँगै बेनी नगरपालिका क्षेत्रमा बिहिबारदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा भएको छ ।

धवलागिरी गाउँपालिकाको सात नम्बर वडा बैशाख मसान्तसम्म शिल गरिएको छ । धवलागिरीको वडा नम्बर ६ मराङलाई पनि शनिबारदेखि शिल गरिएको वडा अध्यक्ष राजाराम सुबेदीले बताउनुभयो ।

धवलागिरी गाउँपालिका, वडा कार्यालय र सेवा केन्द्रको सेवा पनि अनिश्चितकालका लागि बन्द भएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

मंगला गाउँपालिकामा निषेधाज्ञा गर्न सिफारिस भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा शनिबार बाबियाचौरमा बसेको सर्वपक्षीय बैठकले दश दिन निषेधाज्ञा गर्न कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिलाई सिफारिस गरेको हो ।

२०७७ बैशाख २६ गते राती १२ बजेदेखि दश दिनका लागि निषेधाज्ञा गर्न सिफारिस भएको मंगलाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । “भोली डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको बैठकमा हाम्रो सिफारिसको बिषयमा छलफल हुनेछ,” उहाँले भन्नुभयो “गाउँ गाउँमा पनि कोरोना संक्रमण फैलिएकाले रोकथाम गर्न निषेधाज्ञा गर्न सुझाव आएपछि निर्णय गरेका हौ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...