आइसोलेशनका उपकरण बन्द कोठामा थन्किए

Gandaki Pardesh notice

बेनी । रघुगंगा गाउँपालिका–२ घर भई सदरमुकाम बेनीमा पेशा गर्दै आउनुभएका एक युवालाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।

छ महिनाको बच्चा र श्रीमतिसँगै डेरामा बस्दै आउनुभएका उहाँ आइसोलेशनमा बस्नुपर्ने भयो । होम आइसोलेशनमा बस्दा परिवारका अन्य सदस्यहरुलाई पनि संक्रमण सर्ने खतरा, घरधनीको दवावका कारण उहाँले छुट्टै आइसोलेशन खोज्नुभयो ।

करिब दुई घण्टाको प्रयासपछि बेनी नगरपालिकाले माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइड स्थित पुरानो भवनमा स्थापना गरेको प्रिआइसोलेशनमा उहाँले बेड पाउनुभयो । तिब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको बेनीमा आफ्नै घर र छुट्टै कोठा नभएका संक्रमितहरुले भोग्नुपरेको समस्याको यो एउटा उदाहरण मात्रै हो ।

Shreekrishna hardwear in news

सामान्य होटलका साझा कोठाका जस्तै डसना र तन्ना बिछ्याइएको काठको खाटमा संक्रमितलाई राखिएको छ । तर कोरोना अस्पतालका लागि खरिद गरिएका लाखौ मूल्यका बेड बिस्तारा लगायतका सामग्री प्रयोग बिहिन भएका छन् । बेनीको शैक्षिक तालिम केन्द्रको भवनमा स्थापना गरिएको कोरोना अस्पतालका सामग्री प्रयोग बिहिन भएर थन्किएका हुन् ।

आइसोलेशनका सामग्रीहरु अलपत्र परिरहँदा कोरोना संक्रमितहरुलाई राख्ने र उपचार गर्ने ठाउँको अभाव भएको छ । अधिकांश संक्रमितहरु होम आइसोलेशनमा बसेपनि सदरमुकाम बेनीमा डेरामा परिवारका अन्य सदस्यसँगै बस्ने संक्रमितहरुको ब्यवस्थापनमा समस्या भएको हो ।

गत वर्ष पहिलो चरणमा कोरोना भाइरसका संक्रमितको उपचारका लागि बेनी नगरपालिका र म्याग्दीका अन्य पाँच वटा स्थानीय तहको लागत साझेदारीमा २० शैया क्षमताको आइसोलेशन स्थापना गरिएको थियो ।

कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको समेत नेतृत्व गरेको जिल्ला प्रशासन कार्यालयको मौखिक सहमतिमा शैक्षिक तालिम केन्द्रले आइसोलेशनका सामग्रीलाई एउटा कोठामा थन्काएर शिक्षकहरुका लागि तालिम सञ्चालन गरेको थियो ।

त्यसबेला कोरोना संक्रमणको दर न्युन थियो । संक्रमणको दर बढ्दै जाँदा आइसोलेशन नहुँदा कोरोना नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा चुनौति देखिएको हो ।

बेनी नगरपालिकाको रु. १७ लाख पचास पचास हजार लगानी भएको सो आइसोलेशनमा मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले दामासाहीका दरले त्यतीनै खर्च गरेका थिए ।

Bhautik ministry notice about road

अक्सिजन सिलिण्डर, बिरामी सुत्ने आरामदायी बिस्तारा, औषधी राख्ने ठाउँ लगायत कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने हुने उपकरणहरु प्रयोगबिहिन भएका हुन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनी अस्पतालको निर्माणाधिन भवनमा स्थापना गर्न लागिएको आइसोलेशनमा ती सामग्री प्रयोग हुने बताउनुभयो ।

कोरोना संक्रमित नभएको अवस्थामा तालिम सञ्चालन गर्न आइसोलेशन हटाइएपनि दोस्रो लहरको संक्रमण देखिन थालेपछि आइसोलेशन तयार पार्ने काम तिब्र रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

प्रजिअ गणेशबहादुर अधिकारीले पाइपबाट बिरामीको बेडसम्मै अस्किजन आपुर्ति गर्न सकिने सुबिधा भएको, चिकित्सक र स्वास्थ्यकर्मीहरुको पहुँच हुने, सुरक्षा र ब्यवस्थापकीय हिसाबले सहज हुने भएकाले अस्पतालसँगै आइसोलेशन बनाउन लागिएको बताउनुभयो ।

नयाँ भवन निर्माण र अस्पतालको नियमित सेवा प्रभावित नहुने गरि निर्माणाधिन भवनको चार वटा कोठामा २० शैया क्षमताको आइसोलेशन बनाउन लागिएको प्रजिअ अधिकारीले बताउनुभयो । आवश्यक परेमा शैक्षिक तालिम केन्द्रको भवनलाई पनि आइसोलेशनको रुपमा प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

बैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा बेनी नगरपालिका र मालिका गाउँपालिका बाहेकका जनप्रतिनिधीले बेनीको कोरोना अस्पताल र आइसोलेशनमा लगानी गर्न नसक्ने बताएका थिए । चिकित्सक र स्वास्थ्यकर्मी भएकाले पालिकाकै कोरोना अस्पतालमा संक्रमितको उपचार गरिने उनिहरुको भनाई थियो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदीले अस्पताल परिसरमा आइसोलेशनका साथै हिलसाइड स्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रि आइसोलेशन तयार पारिएको बताउनुभयो ।

बेनी अस्पतालमा पाँच शैया क्षमताको भेन्टिलेटर सहितको सघन उपचार कक्ष स्थापना भएको छ । पाँच वटा स्थानीय तहमा पाँच÷पाँच शैया क्षमताको कोरोना अस्पताल छन् । हाल म्याग्दीमा ७० जनाको हाराहारीमा सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एक जना संक्रमितको बेनी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण दर उच्च हुनेमा कास्की पछि म्याग्दी दोस्रो स्थानमा छ । अधिकांश संक्रमित सदरमुकाम बेनी बजारका छन् ।यो खबर आजको रिखार दैनिक पत्रिकामा प्रकाशन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...