बेनी, । म्याग्दीमा आइतबार एकै दिन २३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा गरिएको ४६ वटा स्वाब नमुनाको परिक्षणका क्रममा अन्नपूर्ण गाउँपालिका बाहेकका पाँच वटा स्थानीय तहका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार धवलागिरी गाउँपालिकामा छ जना महिला र चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी मालिका गाउँपालिकामा दुई जना पुरुष र एक जना महिला, मंगलामा तीन जना पुरुष, रघुगंगामा २ जना महिला र तीन जना पुरुष तथा बेनी नगरपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मुस्ताङको थासाङमा एक जना र घरपझोङमा ११ जनामा कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङमा परेका र शंकास्पद बिरामीहरुको स्वाबको नमुना परिक्षण गर्ने क्रममा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले म्याग्दीमा कोरोना संक्रमण दर गण्डकी प्रदेशको कास्की पछि दोस्रो स्थानमा रहेको बताउनुभयो । म्याग्दी जिल्लामा हाल ७१ जना सक्रीय कोरोना संक्रमित छन् । हालसम्म ३४९ जना संक्रमित भएकोमा २७४ जना निको र ४ जनाको मृत्यु भएको छ ।


