औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

Gandaki Ghumau

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ ।

बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपुर्ति हुन नसकेको बताउनुभयो ।

“१४३ घरधुरीका करिब आठ नौ सय जनसंख्या र मण्डकी आधारभूत बिद्यालयका बिद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्,” उहाँले भन्नुभयो “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौ । फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।”

Shreekrishna

बि.स. २०५४ मा तत्कालीन सांसद निल पुनको पहलमा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारा मार्फत औलाका बिभिन्न टोलमा खानेपानी बितरण गरिएको थियो । पछिल्लो समय प्रयाजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको खोलाकाइको मुहान सुकेको दुई महिना भयो । मुहान सुकेपछि रिजर्भ टंकीमा ससारेखोलाको पानी हालिएको छ । खोलाको पानी दुषित भएको, गाइबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताउनुभयो ।

“खोलाको पानी एकदमै मैला छ,” उहाँले भन्नुभयो “गाइभैसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउन आउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौ । साह्ै गाहे भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाई गर्न र गाइबस्तुलाई खुवाउन समस्या भएको छ ।

Gunasthariya Shiksya

मण्डकी आधारभूत बिद्यालयका बिद्यार्थीहरु पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । बिद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ । धारामा पानी नआउँदा औलाबासी घण्टौ पालो कुरेर त्यही मुहानको पानी भर्छन् ।

बुहउद्देश्यीय सभाहल निर्माण योजना समेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधीकारीले बताएका छन् ।

खोलाकाइको मुहान भन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ । लामो खडेरीले भूकम्पले खलबलाएको मुहानमा असर परेर सुकेको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।

अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपुर्ति गराउने तथा दिर्घकालिन हिसाबले निजी धारा सहितको आयोजना निर्माण गर्न पहल गरेको बताउनुभयो ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाडफाँड भइसकेकाले बजेटको अभाव भयो,” उहाँले भन्नुभयो “आउने वर्षमा गाउँपालिका, प्रदेश र संघ सरकार मार्फत बजेट बिनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।”

रिमामा यो वर्ष प्रदेश सरकारले एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भइरहेको छ । अर्को वर्ष औलामा यो आयोजना निर्माण गर्ने वडा अध्यक्ष फगामीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...