म्याग्दीका आयोजनाको अनुगमनमा संसदीय टोली

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेशसभा अन्तरगतको अर्थ तथा बिकास समितिले म्याग्दीमा सञ्चालित बिकास आयोजनाहरुको स्थलगत अनुगमन थालेको छ ।

समितिका सभापति दिपक कोइराला नेतृत्वको टोलीले प्रदेश सरकारले म्याग्दी जिल्लामा सञ्चालन गरेका बिकास आयोजनाको बुधबारदेखि अनुगमन सुरु गरेको हो । भौतिक पुर्बाधार, पर्यटन, उद्योग वन तथा वातावरण र भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्धारा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयन र प्रभावकारिताको अवस्थाका बिषयमा अध्ययन थालेको टोलीले जनाएको छ ।

Shreekrishna hardwear in news

टोलीमा सभापति कोइराला सहित प्रदेशसभा सदस्यहरु जनकलाल श्रेष्ठ, बिनोद केसी र हरिशरण बस्नेतका साथै प्रदेशसभा सचिवालयका तीन जना कर्मचारी सहभागी हुनुहुन्छ । बुधबार बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा सञ्चालित आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरेको टोलीले बिहीबार रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजना अनुगमन गर्ने जनाएको छ ।

प्रदेश सरकारले बजेट बिनियोजन गरेर सञ्चालन गरेका आयोजना तथा कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका समस्या, उपलब्धी र प्रभावकारिता पहिचानका लागि स्थलगत अनुगमन थालिएको सभापति कोइरालाले बताउनुभयो ।

“प्रदेश सरकारले सञ्चालन गरेका बिकास आयोजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि सुझाव दिन प्रतिवेदन तयार पारेर संसदलाई पेश गर्छौ,” उहाँले भन्नुभयो “बिकास आयोजनामा देखिएका ढिलासुस्ति, बिवाद समाधानका साथै सरोकारवालालाई जवाफदेही बनाउन अनुगमन गरिएको हो ।”

टोलीले बेनी–दरवाङ, दरवाङ–धारापानी–ताकम–मुना, मुना–लुलाङ सडक आयोजना, छ्यारछ्यारे, दाङखोला, भारवाङखोला मोटरेबल पुल, प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको साझेदारीमा सञ्चालित मुना स्वास्थ्य चौकीको निर्माणाधिन भवन अनुगमन गरेको थियो ।

Bhautik ministry notice about road

आयोजना निर्माण स्थलमा खटिएका मजदुर, निर्माण ब्यवसायी, प्राबिधिक र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरेको थियो । ५० प्रतिशत भौतिक प्रगति भएको बेनी–दरवाङ सडकको पहिलो प्याकेजको ठेकेदार कम्पनी लामा–समानान्तरणका इञ्जिनियर सुनिल खत्रीले सडकमा पर्ने बिद्युतका पोल नहटाउँदा काम गर्न समस्या भएको बताउनुभयो ।

“बिद्युत प्राधिकरणलाई बेनी देखि तातोपानी सम्म सडकको छेत्राधिकारमा पर्ने २८ वटा पोल सार्न एक वर्ष अघिनै रु. १२ लाख रुपैयाँ भुक्तानी गरेका थियौ,” उहाँले भन्नुभयो “प्राधिकरणले समयमा पोल नसारीदिदाँ सडक बिस्तार, नाली, पर्खाल निर्माण र ग्राबेल गर्ने काम प्रभावित भएको छ ।”

सडक आसपासका प्रभावित बासिन्दाको अबरोध र बिवादका साथै ठेक्का सम्झौता अनुसार ढुङ्गा, गिट्टी र बालुवाको ब्यवस्थापन हुन नसक्दा पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसकेको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजको ठेकेदार बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ थकालीले बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दरवाङ–धारापानी सडकको काम सन्तोषजनक भइरहेपनि दाङखोलाको मोटरेबल पुल ठेक्का सम्झोता भएको डेढ वर्षसम्म पनि सुरु नभएको, भारवाङखोला र मराङखोला मोटरेबल पुल लक्ष्य अनुसार अघि नबढेको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले गाउँपालिका प्रदेश र संघका कार्यालयले समन्वय नगरेको बताउनुभयो । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले मुना–लुलाङ सडकको महतलाको भिरमा सडक खन्न पुर्बाधार बिकास कार्यालयले ठेक्का लगाएको काम समयमा हुन नसक्दा लुलाङ र गुर्जामा सडक निर्माण प्रभावित भएको बताउनुभयो ।

सबै पालिकाका आयोजनाहरुको अनुगमन र सरोकारवालाहरुसँग छलफल गरेपछि बेनीमा अन्तरक्रिया गरेर बिकास आयोजना तथा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइने प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...