मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

Sinchai Khanipani notice

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् ।

चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका साथै उनलाई रक्तश्राव पनि भइरहेको थियो । अड्कीएको साल र रक्तश्रावले मनकुमारी बिक्षिप्त हुनुहुन्थ्यो ।

२५ वर्षीया बिक सुत्केरी भएको मल्कवाङ स्वास्थ्य चौकीबाट राती १ बजे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाई समस्याको जानकारी भयो । लम्सालले तत्कालै मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक प्रशान्त सागर यादवलाई फोन गरेर मल्कवाङ जान आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news

चिकित्सक र स्वास्थ्यकर्मी तयार भए तर राती भएकाले सवारी साधन पाएनन् । केन्द्रमा सवारी साधनको सुबिधा छैन् । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मालिकाकी उपाध्यक्ष खरमाया बिटालुसँग समन्वय गरेर तत्कालै गाडीको ब्यवस्थापन गरिदिनुभयो ।

बिच बाटोमा पर्ने मराङमा मर्मत भइरहेको सडक अवरुद्ध थियो । अध्यक्ष पुनले रातीनै मराङका वडा अध्यक्ष राजाराम सुबेदी, स्थानीय युवा इश्वर सुबेदीलाई फोन गरेर रातीनै सडक अवरोध हटाउन लगाउनुभयो ।

Bhautik ministry notice about road

मल्कवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले दश बजेनै रिफर गरेपनि मनकुमारीका श्रीमान र परिवारका सदस्यले सामान्य रुपमा लिएर धामी झाँक्री गर्न तर्फ लागेका थिए । चेतनाको कमीले संवेदनशिल अवस्थालाई सामान्य सोचेका मनकुमारीका परिवारका सदस्यले आर्थिक अभाव र गरिबीका कारण खर्च हुने डरले बेनी, दरवाङ लैजान हिचहिचाएका थिए ।

स्वास्थ्य चौकीका प्रमुख लेखनाथ गौतम र स्वास्थ्यकर्मी जगदेवी छन्त्यालले सम्झाई बुझाई गरेपछि उनिहरु मनकुमारीलाई दरवाङ लैजान तयार भए । मनकुमारीलाई मल्कवाङबाट मराङ स्वास्थ्य चौकीमा ल्याउने र चिकित्सक पनि दरवाङ बाट मराङ पुग्ने योजना बनाएर दुवै टोली गाडीमा हुइकिए । बिहान साढे ४ बजे मराङ स्वास्थ्य चौकीमा मनकुमारी र दरवाङबाट गएको स्वास्थ्यकर्मीको टोलीको भेट भयो ।

“बाटोमा जहाँ भेट हुन्छ त्यही उपचार गर्ने योजना सहित औजार, उपकरण तयार पारेर हिडेका थियौ । हामीले भेट्दा उहाँको अवस्था ठिक थिएन्,” चिकित्सक यादवले भन्नुभयो “बिहान ५.२७ मा अड्कीएको साल निकालेर औषधी दिएपछि उहाँको स्वास्थ्यमा सुधार आयो ।”
यादवको साथमा अनमी भिमा पुन, दिपा परियार र कार्यालय सहयोगी सम्मप्रसाद सुबेदीको टोली मनकुमारीको उपचारमा खटिनुभएको थियो । शुक्रबार बिहान ७ बजे मनकुमारीलाई दरवाङ ल्याइएको थियो । स्वास्थ्यमा सुधार आएपछि शुक्रबार साँझनै रिफर गरिएको अहेव यमन नेपालीले बताउनुभयो ।

आमा र बच्चाको अवस्था खतरामुक्त र सामान्य छ । मनकुमारीले नयाँ जिवन पाएको प्रतिक्रिया दिनुभएको छ । “आठ घण्टासम्म छटपटि र पिडा भयो,” उहाँले भन्नुभयो “मैले नयाँ जिवन पाएको महशुस गरेकी छु ।” बिहिबार उहाँले जन्माउनुभएका बच्चा पाँचौ सन्तान हुन् । यसअघि उहाँले जन्माएका ४ मध्य दुई वटा मात्र जिबित छन् ।
गत वर्ष प्रसुति केन्द्र स्थापना भएपनि त्यहाँ प्रसुति गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण अड्कीएको साल निकाल्न नसकिएको हो । गर्भ रहेको ९ महिनामा उहाँले सामान्य हिसाबलेनै बच्चा जन्माउनुभएको थियो ।

साल ननिस्कने समस्यालाई चिकित्सक भाषामा रिटेण्ड पेलेसेन्ट र रक्तश्रावलाई पोष्ट पार्टयुम होमोरेन्ज भनिन्छ । अड्कीएको सालले पाठेघरमा इन्फेक्सन गर्ने, रगत जम्ने, सास फेर्न गाहे हुने र अन्तमा ज्यानै जान सक्ने खतरा हुन्छ । जुन खतरापुर्ण अवस्थालाई मनकुमारीले जितेर नयाँ जिवन पाउनुभएको हो ।

मल्कवाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई प्रसुति तालिमको ब्यवस्थाका साथै मातृ शिशू स्वास्थ्यका बिषयमा सचेतनामुलक कार्यक्रम चलाउने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...