![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ”
बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट लगेर भण्डारण भएको बिषयमा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
देब एण्ड सायर–तिलक जेभीले मंगला–३ ज्यामिरे स्थित एक व्यक्तिको घरमा तोकिएको भन्दा फरक गुणस्तरको सिमेन्ट लगेर भण्डारण गरेको बिषयमा धौलागिरी खबर अनलाइन र रिखार राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशन भएको थियो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
अध्यक्ष रोकाले धौलागिरी खबर अनलाइनसँग कुराकानी गर्दै सम्झौता नहुदै ठेकेदारका शंकास्पद गतिबिधी ध्यानाकर्षण भएको जनाउदै त्यसमा पदाधीकारीको मिलेमतो भएको आरोपको खण्डन गर्नुभएको छ ।
“श्रीमतिलाई कोरोना संक्रमण भएकाले उपचारका लागि पोखरा गएको थिए । हिजो राती मात्र बाबियाचौर आएको छु,” अध्यक्ष रोकाले भन्नुभयो “ठेकेदारको बदमासीको बिषयमा कसैले गुनासो गर्नुभएको छैन् । मिडियामा आएको बिषयमा ध्यानाकर्षण भएको छ । यसमा हामी जनप्रतिनिधिको मिलेमतो भएको भन्ने आरोप सत्य छैन् । सम्बन्धित कर्मचारीहरुसँग पनि सोधपुछ गरेको छु । म आफै पनि भोली स्थलगत निरिक्षणमा जान्छु ।”
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/02/Mangala-Road-ko-Theakdar-ko-chalkhel-1.jpg)
बिकास आयोजनालाई समयमै गुणस्तरीय हिसाबले सम्पन्न गराउनुपर्छ भनेर लाग्दा आफै ठेकेदारको तारो बन्नुपरेको अवस्थामा ठेकेदारसँग मिलेको भन्ने आरोप लगाइएकोमा अध्यक्ष रोकाले दुख ब्यक्त गर्नुभयो । अध्यक्ष रोकाले पदाधीकारीको रुपमा आफूले पाएको सुबिधा समेत समस्यामा परेका बिद्यालय र सामाजिक संघ संस्थालाई सहयोग गर्दै आउनुभएको छ ।
मंगलबार दिउँसोसम्म ठेक्का सम्झौता भइनसकेको सो आयोजनाका ठेकेदारले केही दिन अघि ज्यामिरेमा अग्नी ब्राण्डको ३०० बोरा पिपिसी र ५० बोरा ओपिसी सिमेन्ट लगेर भण्डारण गरेका थिए ।
“दुई करोड ४८ लाखको काम सक्नुपर्ने भएकाले सम्झौताको प्रक्रियासँगै निर्माण सामग्री जुटाउने क्रममा सिमेन्ट लगेर ज्यामीरेमा भण्डारण गरेका हौ,” तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले भन्नुभयो “पिपिसी सिमेन्ट ढलानका लागि नभएर मेसिनरी पर्खाल निर्माणका लागि लगिएको हो । ढलानमा ओपिसीनै प्रयोग गछौ ।”
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
खड्काले ज्यामीरेमा मेसिनरी पर्खाल लगाउने बताएपनि सो क्षेत्रमा गत वर्षकै ठेक्काबाट ग्याबियन पर्खाल र नाली निर्माण भएको छ । यस वर्ष सडक ढलान गर्ने डिजाइन गरिएको ठाउँमा किन पिपिसी सिमेन्ट लगेर राखे भन्ने प्रश्न उठेको छ ?
ढलानमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पिपिसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयबासीले बिरोध गरेका छन् । प्राबिधिकहरुका अनुसार ढिलो सेट हुने पिपिसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्ट भन्दा सस्तो पर्छ ।
तिलक निर्माण सेवाका सञ्चालक खड्काले भने पिपिसी र ओपिसीको मूल्यमा प्रतिबोरा ११० रुपैयाँ फरक पर्ने भएपनि डिजाइन इस्टिमेटमा जे छ त्यही अनुसारको निर्माण सामग्री प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
“मेलै ठेक्का लिएको ९० प्रतिशत योजना निर्धारित समयभित्रै सकेको छु,” खड्काले भन्नुभयो “यो आयोजना पनि जेठ महिनाभित्र सक्ने गरेर तयारी गरेको छु । काम सुरु नगर्दै यस्ता समाचार आयो भने हामीलाई काम गर्न अप्ठ्यारो पर्छ ।”
राष्ट्रिय योजना आयोग सँगको साझेदारीमा गाउँपालिकाले तीन करोड ३४ लाख रुपैयाँ लागत अनुमानमा ठेक्का आव्हान गरेको थियो । सम्झौता नगर्दै ठेकेदारले निर्माण स्थलमा के आट गरेर ? कसको साथ पाएर कम गुणस्तरको निर्माण सामग्री आपुर्ति गरे ? भन्ने प्रश्न उठेको छ ।
म्याग्दीमा धेरै सडक र बिकास आयोजना ठेक्का लिएर अलपत्र पार्दै आएका निर्माण ब्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष बिपिन खड्काले सो आयोजनाको प्रतिनिधि आफू भएको प्रतिनिधि भएको दावी गर्दै आएपनि भुपेन्द्रले आफू भएको बताउनुभयो ।
मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले कुन गुणस्तरको सिमेन्ट प्रयोग गर्ने भन्ने तय र ठेक्का सम्झौता पनि भइनसकेको भन्दै पन्छिन र ठेकेदारलाई संरक्षण पुग्ने हिसाबले प्रतिक्रिया दिनुभएको थियो । इञ्जिनियर सुजन पौडेलले भने स्थानीयबासीले गुनासो गरेपछि प्राबिधिक बिपिन आचार्यलाई गोदाम निरिक्षणका लागि पठाएको बताउनु भएको थियो ।
सो आयोजनाको ठेक्का प्रक्रियामा निर्माण ब्यवसायी बिपिन खड्काले प्राबिधिक, कर्मचारी र पदाधीकारीसँग ‘सेटिङ’ मिलाएको आरोप अन्य निर्माण ब्यवसायीहरुले लगाएका छन् । खड्काले भने गाउँपालिकासँग समन्वय नगरी निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट लैजानु कमजोरी भएको भन्दै त्यसलाई फिर्ता गर्ने प्रतिक्रिया दिनुभएको थियो । बिपिन र भुपेन्द्र नातेदार हुनुहुन्छ ।
बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया सम्मको पहिलो खण्डको स्तरोन्नति कार्य हालै सकिएको थियो ।
साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)