जलबिद्युत आयोजनासँगै भित्रिएको अवसरलाई सदुपयोग गर्न नारच्याङबासीलाई आग्रह

Gandaki Pardesh notice

घराप । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ ।

निलगिरीखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरीखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरीखोला–२ जलबिद्युत आयोजनाको बिद्युतगृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सबस्टेशन जोड्ने प्रशारण लाइन निर्माण हुन लागेको हो ।

२२० केभी क्षमताको ७.४ किलोमिटर दुरीको प्रशारण लाइन निर्माणका लागि शनिबार घरापमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको छ । परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रा.लीका शंकर बस्यालले प्रशारण प्रतिवेदनको मस्यौदा सार्वजनिक गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

निलगिरी पहिलोको स्विच्यार्ड रहने छोटेपा देखि दोस्रोको स्विचार्ड सम्म ५ किलोमिटर र दोस्रोबाट दानासम्म २.४ किलोमिटर प्रशारण लाइनको २४ वटा टावर बनाइने भएको छ । कुल १२ करोड ७८ लाख ९२ हजार ७२३ रुपैयाँ कुल लागत अनुमान गरिएको १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माणका लागि २५८ वटा रुख कटान गरिने भएको छ ।


स्थानीय स्रोतको उपयोग, रोजगारी सिर्जनाका साथै राष्ट्रिय प्रणालीमा बिद्युत थप गर्न मद्दत गर्ने यस आयोजनाको टावर बनाउन .७८ हेक्टर, तारमुनी दायाँ र बायँ पर्ने जमिनका लागि २१.१३ हेक्टर र कामदार क्याम्पका लागि ०.१० हेक्टर जमिन प्रयोग हुने भएको छ ।

आयोजना निर्माणका क्रममा देखिने वातावरणीय प्रभावको असर न्युनीकरण र सिपमुलक तालिमका लागि ६० लाख ७५ हजार र जैबिक, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभाव न्युनीकराका लागि २९ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

२०७४ देखि सुरु भएको निलगिरीखोला जलबिद्युत आयोजनाको हालसम्म २० प्रतिशत निर्माण सकिएको छ । दोभिल्नादेखि छोटेपा हुदै हुमखोला जोड्ने १४ किलोमिटर पहुँचमार्ग खनेको छ । थप २.५ किलोमिटर पहुँचमार्ग खन्न बाँकी छ ।

Bhautik ministry notice about road

छोटेपामा बाँध र दोभिल्नामा बिद्युतगृह रहने ७१ मेगावाटको निलगिरी दोस्रोको साढे पाँच किलोमिटर सुरुङ मध्य ४ ठाउँबाट एक हजार ३०० मिटर खनिसकेको छ । थप एक वटा अडिटबाट सुरुङ खन्ने तयारी गरेको इञ्जिनियर केशव वाग्लेले बताउनुभयो । दोभिल्नामा बिद्युतगृह निर्माणको काम भैरहेको छ ।

३८ मेगावाटको निलगिरी पहिलोको बाँध हुमखोला र बिद्युतगृह छोटेपामा प्रस्ताव गरिएको छ । ३ किलोमिटर मध्य २०० मिटर सुरुङ निर्माण भइसकेको छ । सन २०२२ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कोरोना, गत बर्षको हिमपात र बर्खाको पहिरोका कारण प्रभावित भएको छ । भौगोलिक रुपमा बिकट क्षेत्रमा अक्करे पहाड छिचोलेर पहुँचमार्ग बनाउन धेरै समय खर्चिएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागि सरोकारवालाले जलबिद्युत र प्रशारण लाइन आयोजनाले सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गर्ने बजेटलाई बिकास, सामाजिक क्षेत्रमा सदुपयोग गर्न सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत पुबर्धार र सामाजिक क्षेत्रमा योजना बनाएर उपलब्धि देखिने गरि सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्न आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जलबिद्युत आयोजनाबाट प्राप्त अवसरलाई सामाजिक रुपान्तरण र आर्थिक अवस्था सुधारमा परिचालन गर्न नारच्याङबासीलाई आग्रह गर्नुभयो ।

“खोलामा बर्षौदेखि खेर गएको पानी पैसामा रुपान्तरण हुदैछ,” उहाँले भन्नुभयो “समृद्धीको आधार सिर्जना गर्ने यी जलबिद्युत आयोजनाहरुलाई छिटो, छरितो र लगानीमैत्री वातावरणमा सम्पन्न गराउन सघाउनुपर्छ ।”

जिल्ला समन्वय समितिका सदस्य मेखबहादुर गर्बुजाले निलगिरीको सुरुङ खन्दा चर्किएको गाडपार माथिको पहाडको जोखिम अध्ययन गरि थप क्षति हुनबाट जोगाउन सुझाव दिनुभयो । वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले जलबिद्युत आयोजनाले नारच्याङमा धेरै बिकासका पुर्बाधार, लगानी र आयआर्जनको अवसर सिर्जना भएको बताउनुभयो ।

आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले स्थानीयको सुझाव, आवश्यकता र मागका आधारमा प्रतिवेदनमा समेटिएका योजनामा सामाजिक उत्तरदायित्वको बजेट परिचालन हुने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय घान्द्रुकका श्याम गुरुङ, आमा समूहकी नरीमाया गुरुङ, नारच्याङ आधारभूत बिद्यालयका प्रअ सुकबहादुर गर्बुजा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

निलगिरी प्राकृतिक स्रोत तथा बिकास आयोजना सरोकार समितिका अध्यक्ष तमबहादुर चोचाङ्गीको अध्यक्षता, सचिब लोकबहादुर फगामीको सञ्चालन र सदस्य श्याम पुर्जाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा मौलिक पुख्यौली लगायत नृत्य समेत प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...