कालीगण्डकी करिडोरको एकीकृत बाढी व्यवस्थापन गुरुयोजना बनाइने

Annapurna notice 3

म्याग्दी, ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास आयोजनामा जलवायुमैत्री पूर्वाधार निर्माणलाई अनिवार्य सर्त बनाउनुपर्ने बताउनुभएको छ ।

म्याग्दीको बेनीमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले विकास निर्माणको परम्परागत अभ्यास परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna

भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीले विकास संरचनामा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आयोजना निर्माणको नक्साङ्कनदेखि नै जलवायु अनुकूलनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“यस वर्षको विपद्ले जलवायु अनुकूल पूर्वाधारलाई विकासको अनिवार्य सर्त बनाउनुपर्ने अवस्था सिर्जना गरेको छ,” उहाँले भन्नुभयो, “विद्युत् नियमन आयोगले निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा अध्ययन गरेको छ ।”

भोटेकोशीको बाढीबाट ऊर्जा क्षेत्रसँगै मानवीय जनशक्तिमा पनि ठूलो र अकल्पनीय क्षति भएको उहाँले बताउनुभयो । यस्ता विपद्को सामना गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग मागिएको उहाँको भनाइ थियो । “विकास संरचना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन । त्यसको सुरक्षा, दिगोपना र नागरिकको जीवनको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,” मन्त्री श्रेष्ठले भन्नुभयो ।

DRM Notice 1

उहाँले स्थानीय अनुभव, जनताको अपेक्षा र सरोकारवालाका सुझावलाई नीति तथा कार्यान्वयनसँग जोडेर दिगो विकासमा योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री श्रेष्ठले हालैको बाढीबाट बेनी बजार र कालीगण्डकी करिडोरमा बढेको जोखिमबारे स्थानीय सरोकारवालासँग छलफल गर्नुभयो । जलवायु परिवर्तनका कारण माथिल्लो भेगमा हिमपहिरो र हिमताल विस्फोटको सम्भावित जोखिमबारे पनि उहाँले चासो व्यक्त गर्नुभयो ।

छलफलमा म्याग्दीका जलविद्युत् आयोजना, सिँचाइ पूर्वाधार विस्तार, विपद् जोखिम न्यूनीकरण र विकास आयोजनाको संरक्षणका विषय उठेका थिए । मन्त्री श्रेष्ठले गत असोज दोस्रो साताको बाढीबाट क्षति पुगेको बेनी बजार संरक्षण योजना, गलेश्वर, राहुघाट र पर्वतको जलजला गाउँपालिकास्थित फर्से क्षेत्रको निरीक्षणसमेत गर्नुभयो ।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सम्बन्धित निकायबीच तत्काल समन्वय गरी एकीकृत रूपमा काम गर्न उहाँले निर्देशन दिनुभयो । कालीगण्डकी करिडोरको बाढी व्यवस्थापनका लागि गुरुयोजना तयार गर्न विज्ञ टोली परिचालन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

बाढी र नदी कटानको जोखिम कुनै एउटा गाउँ वा नदी किनारमा मात्र सीमित नरहेकाले समग्र करिडोरलाई समेटेर सुरक्षित बस्ती, नदी नियन्त्रण र पूर्वसूचना प्रणालीसहितको योजना बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति युवराज रोका, जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका सम्पर्क व्यक्ति चित्र तिलिजा पुन, बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...