
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पु¥याएको छ ।
हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनुका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्टसमेत उडाएको छ ।
मंसिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि सुरु भएको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँ रुपैयाँ बराबरको क्षति पु¥याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएको अधिकृत आवास, जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ । हावाहुरीले भवनमा जडान गरिएका यन्त्र उपकरण, भुइँमा बिछ्याइएको सामग्री, फर्निचर र अन्य सामान तोडफोड गर्नुका साथै उडाएर अन्यत्र पु¥याएको छ ।
त्यस्तै, आयोजनामा आबद्ध निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता तथा छाना उडाएको छ । यसबाट आयोजनाको निर्माण कार्यसमेत प्रभावित हुने देखिएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताउनुभयो ।

विस्फोटक पदार्थ प्रयोग गरेर गरिने सुरुङ उत्खननलगायतका काममा असर पर्ने उहाँले बताउनुभयो । सुरक्षा बेसक्याम्पलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको दैनिक निर्माण कार्य प्रभावित हुने उहाँको भनाइ छ ।
हावाहुरीले भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना उडाएको छ । नारच्याङका स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोले बनेको घरको छाना पनि उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो ।

नारच्याङ र आसपासका बस्तीमा रहेका अन्य घरगोठमा समेत क्षति पुगेको छ । हावाहुरीले सुन्तलाका दाना झारेर क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।
अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबास व्यवस्थापनका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । टेन्ट उडाएपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।
हावाहुरीपछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी र पत्रकारसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । वडाध्यक्ष फगामीको रोहबरमा इलाका प्रहरी कार्यालय दानाले क्षतिको विवरणसहित प्रहरी मुचुल्कासमेत तयार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो ।
यसैबीच, ‘रन अफ द रिभर’ प्रकृतिको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको थियो । गत जेठमा भालेबासको अडिट नं. १ र असोज पहिलो साता घरापको अडिट नं. ४ बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको निर्माण कार्य प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ ।
रु. ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ् ।
