
बेनी, ः श्रम संस्कृति पार्टी म्याग्दी जिल्ला समितिको पहलमा संकलन गरिएको रु. ९६ हजार ९०० बराबरको राहत सहयोग विपद् प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ ।
पार्टीले रघुगङ्गा गाउँपालिका–३ पिप्ले पुवाका पीडित परिवारलाई रु. २१ हजार ९०० बराबरको खाद्यान्न सहयोग गरेको छ । त्यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ किन्दुका पीडितका लागि रु. २५ हजार र सोही वडाको पाउद्वारका विपद् प्रभावितका लागि रु. ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
किन्दुका लागि उपलब्ध गराइएको रकम वडा नं. ५ का अध्यक्ष राजेश तिलिजालाई हस्तान्तरण गरिएको थियो । पाउद्वारका लागि छुट्याइएको रकम विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको पार्टीले जनाएको छ ।


राहत सहयोग हस्तान्तरण कार्यक्रममा श्रम संस्कृति पार्टी गण्डकी प्रदेश संयोजक सिङ्गबहादुर गुरुङ, प्रदेश सहसचिव सुन्दर गुरुङ, प्रवास समिति पोर्चुगलका महासचिव सिदाहा गर्बुजा, म्याग्दी जिल्ला संयोजक विनोद राना मगर, जिल्ला सचिव अनिल पाइजा र जिल्ला कोषाध्यक्ष कुमारी पुनलगायतको उपस्थिति थियो ।
दुःख र विपत्तिको समयमा एकअर्कालाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै पार्टीले सामाजिक सेवा र जनताको सुखदुःखमा साथ दिने कार्यलाई निरन्तरता दिने जनाएको छ ।
राजनीति भाषण र पदका लागि मात्र नभई समाजमा प्रत्यक्ष योगदान पुर्याउने माध्यम हुनुपर्ने मान्यताअनुसार श्रम, एकता र सहकार्यको भावनालाई व्यवहारमा उतार्दै सामाजिक सेवामा सक्रिय रहने पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ ।
