
म्याग्दी, ः म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभूत विद्यालयमा प्रवासी र समुदायको सहयोगमा विद्यालय भवन निर्माण भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराईन र नेपाली क्लव अफ बहराइनको सहयोगमा दुई कोठे भवन निर्माण भएको हो ।
बहराइनबाट रु. पाँच लाख सहयोग प्राप्त भएको भवन निर्माणका लागि स्थानीयबासीहरुबाट थप रु. दुई लाख चन्दा संकलन भएको विद्यालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष सुवास विश्वकर्माले जानकारी दिनुभयो ।


भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । यसअघि पुरानो र जिर्ण भवनमा पठनपाठन गराउनुपर्ने अवस्था थियो । पक्की एक तले भवल निर्माण भएको हो । कक्षा तीन सम्म पठनपाठन हुने विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत रहेका प्रअ ठाकुरप्रसाद शर्मा पौडेलले बताउनुभयो ।
एनआरएनए बहराइन र नेपाली क्लव अफ बहराइनका संस्थापक संरक्षक छबिलाल विश्वकर्मा, संरक्षक लालप्रसाद पुन, सल्लाहकार चन्द्र गुरुङ, एनआरएनए बहराइनका उपाध्यक्ष अमृत देवकोटा, सचिव प्रेमराज पौडेलले बुधबार विद्यालय र भवनको निरीक्षण गर्नुभएको थियो ।
बेनी नगरपालिका–६ का वडा सदस्य राधिका विश्वकर्माको नेतृत्वमा सहयोगी संस्थाका प्रतिनिधीहरुलाई स्वागत र सम्मान गरिएको थियो ।
