
म्याग्दी, २ मंसिर ः ‘एप्लिकेशन’ नचल्दा यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणका लागि सर्वेक्षण गर्ने काम प्रभावित भएको छ ।
सरकारको ‘विपद एसिसमेन्ट टुल्स’ (ब्याट) नचलेका कारण क्षतिग्रस्त निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सर्वेक्षणको काम अघि बढ्न नसकेको हो । बेनी नगरपालिकाको विपद् सम्पर्क व्यक्ति बिष्णु पौडेलले स्थलगत रुपमा प्रभावित ठाउँमा पुगेर विवरण भर्न प्रयोग हुने एप्लिकेशन नचलेका कारण प्राबिधिकहरुलाई खटाउन नपाएको बताउनुभयो ।
“विपद्बाट क्षति पुगेका संरचना भएकै ठाउँमा पुगेर जिपिएस डाटा सहितका विवरण र तस्विर अपलोड गर्नका लागि एप्लिकेशन आवश्यक पर्छ,” उहाँले बताउनुभयो “एप्लिकेशन सञ्चालन हुनासाथ प्राबिधिक जनशक्ति परिचालन गर्न तयार छौ ।”


जिल्ला विपद् ब्यवस्थापन समितिले गत कात्तिक १३ गते २०८४ जेठ १५ गतेसम्म निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य सहित तयार गरेको १२ बुदे कार्ययोजना अनुसार तिहार अघिनै सर्वेक्षण शुरु गर्नुपर्ने थियो ।
देशभरका सरकारी वेभसाइटहरुसँगै विपद् ब्यवस्थापन सम्बन्धी एप्लिकेशनमा पनि प्राबिधिक समस्या आएको हो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलले निजी आवासको क्षतिको मुल्याङ्कन र लाभग्राही पहिचानको प्रक्रिया अघि बढाउन एप्लिकेशन आवश्यक पर्ने बताउनुभयो ।
सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । हिमाली जिल्ला म्याग्दीका विपद् प्रभावितले निजी आवास पुननिर्माणका लागि रु. पाँच लाख अनुदान पाउने कार्यबिधी छ ।
मनसुनजन्य विपद्बाट म्याग्दीमा यस वर्ष १० जनाको मृत्यु र दुई जना वेपत्ता भएका छन् । जिल्लाभर दुई सय ४३ घर पूर्ण र एक सय ८४ घरको आंशिक क्षति भएको विवरण प्रहरीले संकलन गरेको छ । तीन सय ६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन् । ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ । १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले एप्लीकेशनमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा जानकारी गराइएको बताउनुभयो । विपद् ब्यवस्थापनका लागि देशभरको साझा समस्या भएकाले सरकारले समाधानका लागि गरेका कामबाट छ्टिै परिणाम आउने प्रजिअ गैरेले विश्वास व्यक्त गर्नुभयो ।
