
म्याग्दी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजना स्तरोन्नति शुरु भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले यस सडकको बैसरी–रिसिनचौतारी खण्डमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार, टेवा पर्खाल, नाली, ग्राभेल र ढलान गर्न आयोजना सञ्चालन गरेको हो । यो सडक कालीगण्डकी कोरिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक पनि हो ।
योजना निर्माणका लागि गत साउन ४ गते अंकित एण्ड जेनीशा साहना जेभीले रु. तीन करोड ३५ लाख छ हजार चार सय ८० मा ठेक्का सम्झौता गरेको थियो । वि.स. २०८४ साउन ४ गतेसम्म ठेक्काको म्याद रहेको छ ।
निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकिलो बनाउने काम गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकले जानकारी दिनुभयो । योजना मार्फत बैसरी देखि रिसिनचौतारी खण्डको एक हजार आठ सय मिटर दुरीमा नाली सहित छ मिटर चौडाईका दरले सडक फराकिलो पारिने भएको छ ।


छ सय १० मिटर ढलान र एक हजार एक सय ९० मिटर ग्राभेल हुने भएको छ । नौ सय ९० घनमिटर ग्यावीयन पर्खाल, एक हजार छ सय ४९ घनमिटर मेसिनरी पर्खाल निर्माण हुने कार्यालय प्रमुख उलकले बताउनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधी शिव जिसीले अबको तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य सहित पहिलो चरणमा हालसम्म एक हजार दुई सय मिटर सडक फराकिलो पार्न काम सकेको जानकारी दिनुभयो ।
लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित उपकरण परिचालन गरेको बताउदै मजदुर थप र निर्माण सामग्रीको ब्यवस्थापन गर्ने बताउनुभयो । यो सडकले रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडालाई कालीगण्डकी कोरिडोरसँग जोड्छ ।
कालीगण्डकी कोरिडोरको घुमाउनेताल–बैसरी खण्डको विकल्पका रुपमा विकास गर्ने र स्थानीयबासीहरुको सहजताका लागि यस सडक योजना सञ्चालन गरिएको म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।
