
म्याग्दी, ः म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण भएको संरचना प्रयोगविहीन बनेको छ ।
खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरो जाने समस्याका कारण खानेपानी आपूर्ति अवरुद्ध हुँदा बेनीमा हुने अभाव हटाउन म्याग्दी नदीको पानी तानेर वितरण गर्ने उद्देश्यले संरचना निर्माण गरिएको थियो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी सङ्कलन स्थलसम्म पानी पु¥याउने संरचना बनाएको हो ।

वि.सं. २०८० मा निर्माण सम्पन्न भएको संरचना हालसम्म सञ्चालनमा आउन सकेको छैन् । पछिल्लो विपद्पछि बेनीमा खानेपानी आपूर्ति प्रभावित हुँदा पनि वैकल्पिक संरचना प्रयोगमा ल्याउन नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताउनुभयो ।
“संरचनामा प्राविधिक समस्या देखिएकाले संस्थालाई हस्तान्तरणसमेत भएको छैन,” उहाँले भन्नुभयो, “असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि खानेपानी आपूर्तिमा समस्या भयो। तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा प्रयोग गर्न सकिएन् ।”

विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र राज्यको लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन् । उनीहरूले प्राविधिक समस्या समाधान गरी संरचना सञ्चालनमा ल्याउन माग गरेका छन् ।
वि.सं. २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजले वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि रु. दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
बेनी नगरपालिका–२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ । इनारदेखि एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म करिब नौ सय मिटर लामो चार इन्चको जीआई पाइप बिछ्याइएको छ ।
तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ । म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ टंकीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ । यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि पानी वितरण थालेको छ । हाल प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति भइरहेको छ ।
विपद्अघि ती मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा ल्याइने गरेको थियो । विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो । संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थाले बेनी नगरपालिकाका वडा नं. २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको छ ।
मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरी आलोपालो प्रणालीबाट वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु. १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु. ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।
