
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रुपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन भएको छ ।
आगामी मंसिर ३ गतेसम्म कुहुँ स्थित विद्यालय परिसरमा सञ्चालन हुने “म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ”को बिहिबार गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।
विद्यालयलाई आवासीयमा रुपान्तरण, स्मार्ट विद्यालयको अवधारणा अनुसार सूचना प्रबिधीको प्रयोग गरि पठनपाठन, सिकाई उपलब्धी र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको ब्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले बताउनुभयो ।

“विपन्न, भौगोलिक रुपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीहरुलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरि सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्य राखेका छौ,” उहाँले भन्नुभयो “प्रबिधीको प्रयोग र शैक्षिक गुणस्तर बृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्युनीकरण गर्ने पनि उद्देश्य हो ।”


पण्डीत दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु. तीन करोड जुटाउने र रु. दुई करोड बचत गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयोे । महायज्ञ सुरुहुनुअघिनै रु. ४० लाख भन्दा बढी सहयोग घोषणा भइसकेको उहाँले बताउनुभयो । प्रवास र देशमा विभिन्न ठाउँमा रहेका पुर्वविद्यार्थी तथा स्थानीयबासीहरुबाट सहयोगको प्रतिवद्धता आउने क्रम जारी छ ।
महायज्ञमा भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने विद्यालयले जनाएको छ । कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ९६ जना विद्यार्थी छन् । वि.स. २०१७ मा स्थापना भएको विद्यालयले वि.स. २०४७ देखि माध्यमिक र वि.स. २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको सहायक प्रअ हरिकृष्ण भट्टराइले बताउनुभयो ।

महायज्ञको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा घट्दो विद्यार्थी संख्या प्रमुख शैक्षिक चुनौति बनेको अवस्थामा दिपशिखा मावीले अघि सारेको स्मार्ट र आवासीय विद्यालयको अवधारणा प्रभावकारी हुने अपेक्षा गर्नुभयो । विद्यालयको अभियानलाई प्रदेश तहबाट हुने सहयोगका लागि सहजिकरण गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । महायज्ञ शुरुहुनु अघि कुहुँदेखि टोड्के र पूर्णगाउँ हुदै पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो ।
