
म्याग्दी, ः बेनीमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आइतबार विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ ।
नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा अतुलनीय योगदान पु¥याउनुभएका देवकोटाको जन्मजयन्तीका अवसरमा म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रममा कृति बिमोचन, महाकवी देवकोटाको व्यक्तित्व र योगदानको चर्चा, रचना वाचनका साथै साहित्य क्षेत्रको विद्यमान अवस्था र चुनौतिका विषयमा अन्तरक्रिया भएको कार्यक्रम संयोजक दिपक पौडेलले जानकारी दिनुभयो ।

दिवसको अवसरमा म्याग्दीका स्रष्टा हरिप्रसाद पौडेलको ‘जेन–जी विद्रोह’ दस्तावेजको संगालो बिमोचन गरिएको थियो । पुस्तकमा ‘जेन–जी बिद्रोह’ सम्बन्धी दस्तावेजहरुका साथै सामाजिक, आर्थिक, राजनैतिक अवस्था र चुनौतिलाई समेटेर बिचार तथा विश्लेषणमुलक लेखहरु समावेश गरेको लेखक पौडेलले बताउनुभयो ।
कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्माले महाकवी देवकोटाको जिवनी, योगदानको चर्चासँगै समसामियक साहित्यक अवस्था, चुनौति र सम्भावनाका विषयमा प्रवचन दिनुभएको थियो ।
“स्रोता, पाठक र दर्शक डिजिटल सामग्रीमा केन्द्रित हुनु र कृतिम वौद्धिकताको बढ्दो प्रयोगले सिर्जनशिलतामा चुनौति थपिएको छ,” उहाँले भन्नुभयो “प्रबिधीको प्रयोग गरी मौलिक, सिर्जनशिल, तथ्यपरक र जागरणमुलक साहित्यक सामग्रीहरुलाई आम पाठक, स्रोता र दर्शकमाझ पुग्ने शैली अपनाउन सकेमा थप प्रभावकारी हुन्छ ।”

पौलत्स्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, विश्व साहित्य मञ्च गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका हिराबहादुर जिसी, साहित्यकार गणनाथ पौडेलले सूचना प्रबिधीको माध्यमबाट साहित्यक रचना, सिर्जना र कृतिहरुलाई आम नागरिक सम्म पुग्ने शैली अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष जिवन मल्लले नयाँ प्रतिभाको पहिचान र उजागर गराउन साहित्यिक गतिबिधीलाई ‘भर्चुअल’ र ‘डिजिटल’ बनाउन पनि उहाँहरुले सुझाव दिनुभयो ।
म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले त्याग परियोजनाको सहयोगमा किशोरीहरुको रचना बाचन पनि गरिएको जानकारी दिनुभयो । हरेक वर्ष लक्ष्मीपुजाका दिन देवकोटाको जन्मजयन्ति मनाउने गरिन्छ ।
विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको धोबीधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका साइँला छोराका रूपमा जन्मिनुभएका देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रमुख प्रवर्तक हुनुहुन्छ ।
कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका उहाँका ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘लुनी’ र ‘प्रमिथस’ लगायत कृति चर्चित छन् ।
साहित्य सिर्जनामार्फत मानवता, समानता, प्रकृतिप्रेम र सामाजिक चेतनाका विषयलाई उजागर गर्नुभएका देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गर्नुभएको कार्यक्रममा सहभागीले चर्चा गरेका थिए ।
राणा शासनका समयमा सर्वसाधारणले पनि शिक्षा र ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्ने अभियानमा सक्रिय उहाँले त्यसक्रममा जेल जीवनसमेत बिताउनुपरेको थियो। विसं २०१५ मा गठित नेपालको पहिलो जनप्रतिनिधिमूलक सरकारमा उहाँ शिक्षामन्त्रीसमेत बन्नुभएको थियो । वि.सं २०१६ भदौ २९ गते ५० वर्षको उमेरमा निधन हुनुभएका देवकोटाका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधिका रूपमा रहेका छन् ।
