
म्याग्दी, ः बेनीमा आइतबार सम्पन्न रु. दुई लाख भन्दा बढी पुरस्कार राशीको चौथो वौद्ध कप खुल्ला फुटबल प्रतियोगिताको उपाधी एभरग्रिन युवा क्लवले जितेको छ ।
बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मालिका गाउँपालिका–६ दुखुको मितेरी युवा क्लवलाई शून्यका विरुद्ध तीन गोल गर्दै एभरग्रिन बिजयी भएको हो ।
मनसुन युवा क्लवलाई शून्यका विरुद्ध तीन गोल गर्दै मालिका गाउँपालिका–६ दरवाङको पश्चिम म्याग्दी युवा क्लव तेस्रो भएको आयोजक वौद्ध युवा क्लवका सचिव श्यामशुन्दर कंडेलले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. दुई लाख २२ हजार दुई सय २२, उपविजेताले रु. एक लाख ११ हजार एक सय ११ र तेस्रोले रु. ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका छन् ।
अनुशासित घोषणा भएको बरबुटा युवा क्लव खबराले रु. २२ हजार दुई सय २२ प्राप्त गरेको छ । एभरग्रिनका रोशन छन्त्यालले रु. सात हजार सात सय ७७ नगद सहित उत्कृष्ट खेलाडीको उपाधी पाएका छन् ।


उत्कृष्ट डिफेन्डर मतेरीका सन्दिप गुरुङ र नौ गोल गरेका पश्चिम म्याग्दीका विपुल कार्की सर्वाधिक गोलकर्ताको उपाधी सहित नगद रु. सात हजार सात सय ७७ नगद पुरस्कार प्राप्त गरेका छन् ।
गोलरक्षकमा एभरग्रिनका आशिश केसी, फरवार्डमा अमृत तामाङ र मिडफिल्डरमा निराजन खत्री उत्कृष्ट भए । उनिहरुले पनि मेडल, ट्रफी र प्रमणपत्र सहित नगद रु. सात हजार सात सय ७७ का दरले पुरस्कार प्राप्त गरे ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, क्लवका अध्यक्ष दुर्गा बुढामगर, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दसै–तिहार पर्वको अवसरमा कात्तिक १८ गतेदेखि शुरु भएको प्रतियोगितामा १८ टिम सहभागी भएका थिए ।
प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति रु. ५० का दरले संकलन गरिएको प्रवेश शुल्कबाट ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको छ ।
