
म्याग्दी, ः मालिका गाउँपालिका–६ दुखुबेसीको मितेरी र बेनीको एभरग्रिन युवा क्लव म्याग्दीको बेनीमा जारी चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
बेनीको खुल्लामञ्च खेलमैदानमा शनिबार भएको क्वाटर फाइनल खेलमा मितेरीसँग पेनाल्टी सुटआउटमा ७–६ गोलले पराजित भएको मनसुन र एभरग्रिनसँग ३–२ गोलले पराजित भएको पश्चिम म्याग्दी युवा क्लव तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

मितेरी र एभरग्रिनबीच बिजेता तथा मनसुन र पश्चिम म्याग्दीबीच आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने आयोजक वौद्ध युवा क्लवका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो । कात्तिक १८ गतेदेखि शुरु भएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए । फाइनल खेल आइतबार बिहान ९ बजेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेताले रु. दुई लाख २२ हजार २२२ र ट्रफी प्राप्त गर्ने क्लवका सचिव श्यामसुन्दर कडेलले बताउनुभयो । उपविजेताले रु. एक लाख ११ हजार एक सय ११ र तेस्रोले रु. ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, अनुशासित टोलीलाई रु. २२ हजार दुई सय २२ र उत्कृष्ट खेलाडीलाई रु. सात हजार सात हजार सात सय ७७ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि रु. सात हजार सात सय ७७ का दरले पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति रु. ५० का दरले संकलन गरिएको प्रवेश शुल्कबाट ४० प्रतिशत असोजको दोस्रो साता आएको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरूप हस्तान्तरण गरिने क्लबका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम क्लबको कार्यालय भवन निर्माण तथा कोष स्थापनामा खर्च गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
