
दुखुबेंसी बस्ती संरक्षण र म्याग्दी नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले कटान गरेर अवरुद्ध बनाएको बेनी–दरवाङ सडक खुलाउन प्रदेश र स्थानीय सरकार तथा जलविद्युत आयोजनाहरुको साझेदारीमा अस्थायी मर्मत गरिने भएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरीपछि म्याग्दी नदीमा आएको बाढीले बालौटेमा सडकको करिब एक सय मिटर भाग नदीले कटान गरेपछि सडक अवरुद्ध हुनुका साथै दुखुबेंसी बस्तीसमेत जोखिममा परेको छ ।
बाढीले सडक कटान गरेको क्षेत्र र जोखिममा रहेको बस्तीको अवस्थाबारे गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नन्दप्रसाद न्यौपानेसहितको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरि भण्डारी, प्रदेश पूर्वाधार मन्त्रालयका सचिव नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर महेन्द्रबहादुर बानियाँ र पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख राजेश उलकसहितको टोलीले बालौटे पुगेर क्षतिको अवस्था र सडक पुनः सञ्चालनका लागि गर्नुपर्ने कामबारे जानकारी लिएको हो ।

पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दीखोला बेसीनका जलविद्युत् आयोजनाबीच साझेदारी तथा समन्वय गरेर तत्काल अस्थायी रूपमा सडक मर्मतको काम अघि बढाउने सहमति भएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।
“गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयलाई उपलब्ध गराएको रु. २५ लाख बजेट मध्य १५ लाखमा ग्यावियन जाली खरिद गरेर रु. १० लाख खर्चेर पर्खाल बनाउने तयारी भएको छ,” उहाँले भन्नुभयो “म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुले डोजर र ढुंगा ढुवानी गर्न टिप्पर तथा गाउँपालिकाले ढुंगा उपलब्ध गराउने सहमती भएको छ ।”
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकामगरले अस्थायी मर्मतको काम बुधबारदेखि शुरु गर्ने र दिर्घकालिन समाधानका लागि मन्त्रालयमा रु. दुई करोड भन्दा बढी लागत अनुमान तयार गरेर बजेट माग माग गरिएको बताउनुभयो ।
बालौटेसँगै सिमलगायत बेनी–दरवाङ सडकखण्डका विभिन्न स्थानमा बाढीले गरेको कटान नियन्त्रण र सडक संरक्षणका लागि दीर्घकालीन योजना बनाएर थप बजेट उपलब्ध गराउने मन्त्री न्यौपानेले प्रतिबद्धता जनाउनुभएको छ ।
नदीको कटानका कारण सडकसँगै दुखुबेंसी बस्तीसमेत जोखिममा परेकाले तत्काल सडक खुलाउने कामसँगै म्याग्दी नदी नियन्त्रण र बस्ती संरक्षणका लागि दीर्घकालीन संरचना निर्माण गर्नुपर्ने स्थानीयको माग छ । हाल दुखुखोला देखि तोलावाङ जोड्ने बैकल्पिक सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको छ । बैकल्पिक सडक साँघुरो भएकाले आवत जावतमा असहज भएको छ ।
सडक मर्मत कार्यमा म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी–१, दरवाङ–म्याग्दीखोला र मुदीखोला जलविद्युत आयोजनाले साझेदारी गर्ने प्रतिवद्धता जनाएका छन् । सडकको समस्याले निर्माण सामग्री, उपकरण र इन्धन ढुवानीमा समस्या भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाका प्रतिनिधी बुद्धीराज अधिकारीले बताउनुभयो ।
