
म्याग्दी, ः बेनीमा बुधबार देखि शुरु हुन लागेको रु. दुई लाख २२ हजार दुई सय २२ पुरस्कार राशीको चौथो वौद्ध कप फुटबल प्रतियोगिता–२०८३ को तयारी पुरा भएको छ ।
बेनीको मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुल्ला मञ्चमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पुरस्कार राशी धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा हालसम्मकै धेरै भएको दावी गरिएको छ ।
मंगलबार क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दुर्गा बुढामगरले साँझसम्म १४ टिमले नाम दर्ता गराएको प्रतियोगिता शुरु हुदासम्म २० टिम पुग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

“यो पुरस्कार राशी साविक धौलागिरि क्षेत्रमै हालसम्मको सर्वाधिक धेरै धनराशीको हो,” उहाँले भन्नुभयो “प्रतियोगितालाई लक्षित गरेर क्लवको आव्हानमा मंगलाघाटबासीले श्रमदान गरेर खुल्लामञ्च खेलमैदान मर्मत तथा सरसफाई र प्याराफिट रंगरोगन गरेका छौ ।”

प्रतियोगितामा उपबिजेताले रु. एक लाख ११ हजार एक सय ११ र तेस्रो हुनेले रु. ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै अनुशासित टिमलाई रु. २२ हजार दुई सय २२ प्रदान गरिने क्लवका सचिव श्याम सुन्दर कडेलले बताउनुभयो ।
उत्कृष्ट खेलाडी, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई नगद रु. सात हजार सात सय ७७ का दरले पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता खुला रहने छ र प्रत्येक टिमले बढीमा दुई जना विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
देशभरका जुनसुकै क्लब तथा टिमले आफ्ना उत्कृष्ट खेलाडी सहभागी गराउन सक्ने छन् भने विदेशी खेलाडी अधिकतम दुई जनामात्रै समावेश गर्न पाइने क्लबले स्पष्ट पारेको छ । प्रतियोगिता सञ्चालनका लागि रु. १६ लाख ५७ हजार सात सय ७२ खर्च हुने अनुमा गरिएको बौद्ध युवा क्लबका कोषाध्यक्ष कमल घर्तीमगरले बताउनुभयो ।
प्रतियोगिता अवलोकनका लागि रु. ५० को प्रवेशशूल्क तोकिएको छ । प्रवेशशूल्कबाट उठेको रकमको ४० प्रतिशत यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावितको पुननिर्माण र पुनःस्थापनाको कार्यमा सहयोग सहयोग गरिने क्लवका अध्यक्ष बुढामगरले बताउनुभयो ।
फुटबल प्रतियोगिता अवलोकनका लागि बेनीमा पहिलो पटक टिकट बिक्री गर्ने अभ्यास गर्न लागिएको हो । प्रतियोगिताबाट हुने आम्दानी बचत गरेर क्लवको भवन निर्माणमा परिचालन गर्ने लक्ष्य राखिएको छ ।
