
म्याग्दी, ः म्याग्दी, १४ कात्तिक ः म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु. एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन ।
हाल बेलायतमा रहनुभएका काठमाडौंका डा. सुरेस काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गरेको भवनको शनिबार उद्घाटन गरिएको छ । एक सय तीन वर्षीया धनसरी पाईजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र बिन्दुका श्रीमान सुरेशले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
‘बिन्दु काफ्ले फाउण्डेसन’ले एक करोड २५ लाखमा दुईतले भवन निर्माण गरी कोषलाई हस्तान्तरण गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गत २०८२ मंसिर महिनादेखि भवन निर्माण शुरु भएको थियो । भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल, पहिलो तलामा कोषको सचिवालय र दोस्रो तलामा रहेको एक वटा कोठामा भान्छाकोठा बनाइएको छ ।

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई भवन निर्माणपछि सहज भएको अध्यक्ष रेग्मीले बताउनुभयो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।


कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर पनि छ । हिन्दू धर्मग्रन्थमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक नित्य पूजाआजा गरिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको स्थानीय बताउँछन् ।
स्व. बिन्दुका परिवारको गलेश्वर मन्दिरको विकासमा महत्वपूर्ण योगदान रहेको छ । बिन्दुका बुवा राधाकृष्ण पराजुलीले गलेश्वर मन्दिर निर्माण र वि.स. २०५७ मा गलेश्वर शिवालय क्षेत्र विकास कोष स्थापना गर्नुभएको थियो ।
राधाकृष्णका छोरा रमेश पराजुलीले गलेश्वर मन्दिरको छानामा पित्तलको जलप लगाउने लगायका काममा सघाउनुभएको कोषले जनाएको छ । वि.स. २०७३ मा बेलायतमा दिवंगत हुनुभएकी चिकित्सक रहेकी बिन्दुको इच्छा र स्थानीय आवश्यकता अनुसार भवन निर्माणमा सघाएको सुरेशले बताउनुभयो । प्रजिअ गैरेले भवनको सदुपयोगमा जोड दिनुभयो ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक समेत रहेका बिन्दुका दाजु रमेश र फाउण्डेशनका कोषाध्यक्ष रमेश सुवेदीले निर्माण भएको भवन सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
