
म्याग्दी, ः म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका कृष्णलाल सापकोटाले नमुना किसानको पहिचान बनाउनुभएको छ । बरंजाको महेन्द्ररत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सापकोटाले धानखेती हुने खेतमा कागती खेती विस्तार गर्नुभएको छ ।
सापकोटा सञ्चालक रहेको सापकोटा सुन्तला फार्ममार्फत १२ रोपनी खेतमा छ सय कागतीका बिरुवा हुर्काइएका छन् । चार वर्षअघि रोपिएका बिरुवाले फल दिन थालेका छन् । फार्ममा तीन सय बिजु र तीन सय कलमी बिरुवा रोपिएका हुन् । कलमी बिरुवाले गत वर्षदेखि उत्पादन दिन थालेका थिए । गत वर्ष ५० किलोग्राम कागती बिक्री भएको फार्ममा यस वर्ष उत्पादन बढ्ने सापकोटाको अपेक्षा छ ।
कागती खेतीको व्यवस्थापन सापकोटाले गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीमा रहनुभएका जग्गाधनी डिलाराम कँडेल र पूर्वजग्गाधनी प्रकाश तुलाचन पनि खेतीमा साझेदार हुनुहुन्छ । जापानमा रहेका तुलाचनको योजनाअनुसार कागती खेती सुरु गरिएको सापकोटाले बताउनुभयो ।

फार्ममा उत्पादित कागती प्रशोधन गरी जापान निर्यात गर्ने लक्ष्य राखिएको छ । यसअघि उक्त खेतमा धान, मकै, कोदो र गहुँ खेती गरिन्थ्यो । खाद्यान्न बालीको विकल्पमा कागती खेती सुरु गरिएको हो ।
“साँझबिहान र बिदाको समयमा बगैँचामा बिताउँछु । गोडमेल, काँटछाँट र मलजलका लागि कामदार परिचालन गर्ने गरेको छु,” सापकोटाले भन्नुभयो, “फलफूल खेतीप्रति आकर्षण बढाउने र यसमा सम्भावना छ भन्ने देखाउने उद्देश्यले कागती खेती गरेको हुँ ।”

सापकोटा विसं २०६३ देखि व्यावसायिक सुन्तला खेतीमा पनि संलग्न हुनुहुन्छ । उहाँले सुन्तला बिक्रीबाट वार्षिक रु. पाँच लाख आम्दानी हुने बताउनुभयो । जिल्लाकै ठूलो कागती फार्म भएको उहाँको दाबी छ । सेवा निवृत्त भएपछि व्यावसायिक फलफूल खेतीलाई थप विस्तार गर्ने सापकोटाको योजना छ ।
सापकोटाको प्रेरणाबाट बरंजाका किसानले पनि व्यावसायिक सुन्तला खेती विस्तार गर्न थालेका छन् । स्थानीय बासिन्दासमेत रहनुभएका संविधानसभा सदस्य गमबहादुर श्रीसले सापकोटाले किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सुन्तला बगैँचा व्यवस्थापनसम्बन्धी तालिमसमेत दिँदै आउनुभएको छ ।
“कृष्णलाल सरले युवा र किसानलाई सुन्तलाजात फलफूल खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ,” श्रीसले भन्नुभयो, “मैले पनि राजनीति र सामाजिक कामबाट बचेको समय सुन्तला खेती, बाख्रापालन र मौरीपालनमा लगाएको छु ।” श्रीस अन्तरिम व्यवस्थापिका संसद् तथा संविधानसभाको पहिलो कार्यकालका सदस्य हुनुहुन्थ्यो ।
मंगला गाउँपालिकाका कृषि अधिकृत विमल रोकामगरका अनुसार नेपालमा समुद्री सतहबाट एक सयदेखि एक हजार चार सय मिटर उचाइसम्मका क्षेत्रमा कागती खेती गर्न सकिन्छ । दैनिक आठदेखि १० घण्टासम्म घाम लाग्ने, वार्षिक आठ सयदेखि एक हजार मिलिमिटरसम्म वर्षा हुने र १० देखि ३५ डिग्री सेल्सियस तापक्रम रहने स्थान यसका लागि उपयुक्त मानिन्छ ।
पानी नजम्ने, हल्का दोमट र प्राङ्गारिक पदार्थ पर्याप्त भएको माटो कागती खेतीका लागि उपयुक्त हुन्छ । कागती बालीमा जङ्गली जनावरबाट क्षति हुने जोखिम पनि तुलनात्मक रूपमा कम हुन्छ । नेपालमा सुनकागती–१, सुनकागती–२ र तेह्रथुम स्थानीय जातका कागती खेती गरिँदै आएको कृषि अधिकृत रोकामगरले बताउनुभयो ।
