
म्याग्दी, म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा सुख्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ ।
बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराहन्न देखि सुख्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचना मार्फत जानकारी गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताउनुभयो । बेनी–दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।

सडक बन्द हुँदा दसँै मनाउन जन्मथलो जानेहरुलाई समस्या भएको छ । फापरखेतमा वि.स. २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथामको प्रयास भएपनि सफल हुन सकेको छैन् । शनिबार यसअघि खस्ने भन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्कीएर पहिरो खस्न थालेकाले आवत जावत गर्न जोखिम देखिएको छ ।
