प्राकृतिक नाकाबन्दीमा परको पाउद्धार हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानीमा ढिलाई हुदाँ अन्धकारमा

Gandaki Ghumau

सन्तोष गौतम
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ । विद्युत् सेवा पनि अवरुद्ध छ ।

भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्धारका बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्धारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् । “घर भत्किएका र बस्न नमिल्ने घरका दुई सय २७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ,” उहाँले भन्नुभयो “बिजुली, खानेपानी, सडक र पैदलमार्ग गाउँको तत्कालीन आवश्यकता छ । चार दिन भयो ट्रान्सफर्मर बेनीबाट आउने भनेको तर हेलिकप्टरले शुक्रबार पनि ल्याइदिएन, जनताले गाली गरेर म गाउँ जाने अवस्था छैन् ।”

Shreekrishna

गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्धार, घिरवाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षतविक्षत बनाएको छ । नेपानेका बासिन्दा पूर्ण पाइजाका अनुसार सडकको अवस्था यस्तो छ कि पैदल हिँड्नसमेत कठिन छ ।

“पाउद्धार र घार गाउँ जोड्ने पैदलमार्गमा खसेको पहिरो पन्छाएर सामान्य आवतजावत गर्न मिल्ने बनाइएको छ,” वडा सदस्य समेत रहेका पाइजाले भन्नुभयो “तर खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन ।” शुक्रबार नेपाने देखि पोखरेबगर जोड्ने पदमार्ग श्रमदानबाट मर्मत गरिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष पुनका अनुसार दुई सयभन्दा बढी घर रहेको पाउद्धारका चारवटा टोलमा यसअघि एक सय ७० घरपरिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार अहिले घार र शिखमा आश्रय लिएर बसेका छन् ।

Gunasthariya Shiksya

घारस्थित अस्थायी आश्रयस्थलमा बस्दै आउनुभएका वीरबहादुर तिलिजालाई आफ्नो थातथलोमा फर्किएर बस्न पाइने हो वा होइन भन्ने चिन्ताले सताएको छ । पहिरोले गाउँ घेरेपछि अन्यत्र जाने बाटो नभएपछि हेलिकप्टरबाट उद्धार हुनुपरेको उहाँले बताउनुभयो ।

“पहिरोले गाउँ घेरेपछि कतै जाने ठाउँ नपाएर हेलिकप्टरबाट उद्धार भई शिविरमा बस्दै आएका छौँ । अब त्यो ठाउँमा बसाइ होला भन्ने चिताएको छैन,” उहाँले आँखाभरि आँसु पार्दै भन्नुभयो, “हिउँदमा राम्रो देखिए पनि आउने बर्खामा अहिलेको भन्दा धेरै दुःख पाइने निश्चित छ ।”

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्धारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता उनीहरूमा छ ।

यसबीच गाउँलेले श्रमदान गरेर पदमार्ग, विद्युत् लाइन र खानेपानीका संरचना मर्मत गर्न थालेका छन् । पाउद्धारका बासिन्दा जसे पुनका अनुसार पछिल्लो तीन दिनदेखि डाँडागाउँ र माझगाउँ टोलका बासिन्दाले श्रमदान गरेर पर्यटकीयस्थल खोपरा जाने लरेनीसम्मको पदमार्ग सञ्चालनमा ल्याएका छन् ।

पाउद्धारदेखि नेपाने, किन्दु र घारतर्फ जोड्ने पदमार्ग पनि मर्मत गर्न थालिएको छ । पदमार्ग सञ्चालनमा आएपछि खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ । माझगाउँका बासिन्दाले विद्युत् लाइन मर्मतका लागि पनि श्रमदान अभियान सञ्चालन गरेका छन् ।

पहिरोमा पुरिएको ट्रान्सफर्मर निकालेर नयाँ जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई खबर गरेका थिए । प्राधिकरणका बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बेनीमा आएको ट्रान्सफर्मर सडक मार्गबाट लैजाने सम्भावना नभएकाले हेलिकप्टर आवश्यक परेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ट्रान्सफर्मर ढुवानीका लागि हेलिकप्टर र भूगर्भविद् पठाइदिन अनुरोध गरिएको छ । शुक्रबार जनप्रतिनिधीसँग छलफल र प्रभावितसँग भेटघाटका लागि अन्नपूर्णमा पुगेका म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका नेपाल सरकारका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुनले सेनाको हेलिकप्टर बिग्रएकाले बेनीबाट ट्रान्सफर्मर ढुवानी गर्न ढिलाई भएको बताउनुभयो ।

जति सक्दो छिटो हेलिकप्टर पठाउन विपद् प्राधिकरण र दशैअघिनै पाउद्धार, किन्दु लगायत ठाउँमा बत्ती बाल्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको मन्त्री पुनले बताउनुभयो । पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्धारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...