
म्याग्दी, ः पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपुर्ति सूचारु भएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपुर्ति बन्द भएको थियो ।
अन्नपूर्ण गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडा तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र भएको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रशारण लाइनको समस्याले तत्काल दाना सवस्टेशनबाट विद्युत आपुर्ति गराउन सम्भव नभएकाले वैकल्पिक लाइनबाट विद्युत आपुर्ति गरिएको बताउनुभयो ।
“दाना सवस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोक देखि दाना हुदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रशारण लाइनको मर्मत सकेर विद्युत आपुर्ति सूचारु गराएका छौ,” उहाँले भन्नुभयो “प्राधिकरणका कर्मचारी, प्राविधिक र मजदुरहरु परिचालन गरेर विद्युत आपुर्ति गराउन सफल भएका छौ ।”


मुस्ताङमा असोज २४ गतेदेखि विद्युत आपुर्ति गराइएको र म्याग्दीमा एक÷दुई घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनुभयो । विद्युत आपुर्ति भएसँगै अवरुद्ध सञ्चार सेवा पनि सञ्चालन भएको छ ।
सर्वसाधारणको दैनिक जिवनयापन सहज हुन थालेको छ । मिलनचोक–दाना ३३ केभी प्रशारण लाइनको १० वटा पोल, पाँच सय मिटर तार, दाना–कोवाङ खण्डमा पाँच वटा पोल र दुई सय मिटर तारका साथै विभिन्न उपकरणहरु नष्ट भएका थिए ।
तातोपानी वितरण केन्द्र अन्र्तगत ११ केभी वितरण लाइनमा म्याग्दी र मुस्ताङमा एक एक वटा पोल, मुस्ताङमा एक हजार मिटर तार र उपकरणहरु क्षति भएका छन् । थापाखोला र घलेम्दीखोला जलविद्युत आयोजनाबाट नौ मेगावाट विद्युत उत्पादन गरि ३३ केभी लाइनमा जोडिएको वितरण केन्द्रका प्रमुख चापागाईले बताउनुभयो ।
म्याग्दीका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, एक सय १० मेगावाटको निलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजना भने बन्द भएका छन् ।
