
सन्तोष गौतम
म्याग्दी ः चिनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा पुगेपनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौति देखिएको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको पर्वतको मालढुङ्गा देखि म्याग्दीको हुदै मुस्ताङको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।
५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर स्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहिबार साँझ अत्यावश्यक सवारी साधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग तयार पार्न चुनौति मानिएको थियो ।

इन्धन, एम्बुलेन्स, सडक, विद्युत र सञ्चार सेवा सूचारु गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारी साधन मात्र एकतर्फी रुपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मत कार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।
“प्रारम्भिक चरणको मर्मत भएपनि, पूर्ण रुपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकीनै छ,” उहाँले भन्नुभयो “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मत कार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौ ।”
केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटर मध्य २० किलोमिटर भन्दा ठाउँमा सडक क्षतविक्षत भएको संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

“चिनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरला नाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी भएपनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ,” उहाँले भन्नुभयो “रु. ८० देखि ९० करोड क्षति पुगेको यो सडकलाई नयाँ डिजाइनमा पुननिर्माणका लागि थप रु. तीन अर्ब भन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरेका छौ ।”
आर्थिक वर्ष २०७३÷०८४ देखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुख समेत रहेका सुवेदीका अनुसार योजना शुरु भएयताकै ठूलो क्षत्ति यसपालीको बाढीले गरेको छ । अत्याधिक बर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत आयोजनाहरुले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरोहरु सिर्जना हुनु, सहायक नदीहरुमा पनि बाढीको सतह बढ्नु लगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षत्ति गरेको सुवेदीको भनाई छ ।
कोरला नाकामा जाने आउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैतिहार लगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सिर्जना हुने चुनौतिको व्यवस्थापनका लागि तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । भन्सार जाँच पास गरेर कोरला नाकाबाट दसैलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका पाँच सय भन्दा बढी कन्टेनरहरु गन्तब्यमा पुग्ने प्रतिक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।
“अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारी साधनहरुलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक ब्यवस्थापन गर्नका लागि जनप्रतिनिधी प्रदेश स्तरका सुरक्षा अधिकारीहरु सहितको टोलीले बिहिबार स्थलगत निरिक्षण गरेका छौ,” प्रमुख जिल्ला अधिकारी गैरेले भन्नुभयो “सवारी साधनको जान हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”
अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारी साधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदा सम्मको लागि घुमघामका लागि आउनेहरुलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायव उपरिक्षक राजन कार्की सहित जिल्ला तहका सुरक्षा अधिकारीहरुले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गर्नुभएको थियो ।
सरोकारवालाहरुको सुझाव अनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन ब्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गर्ने प्रजिअ गैरेले बताउनुभएको छ ।
