
म्याग्दी, ः बाढीले क्षति पु¥याएपछि बन्द भएको राहुघाट जलविद्युत आयोजना ११ दिनपछि बिहिबारदेखि पुनःसञ्चालनमा आएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित विद्युतगृह क्षेत्रमा ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेपछि ४० मेगावाट क्षमताको आयोजना बन्द भएको थियो ।
आयोजनाको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राबिधिक कार्य सम्पन्न गरि २० मेगावाट क्षमताको एक वटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पु¥याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरि स्विचयार्ड नजिकैसम्म कटान गर्नुका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।
हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाइ बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत उत्पादन पुनःशुरु गरिएको आयोजना प्रमुख राजबहादुर बिष्टले बताउनुभयो ।

“बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौं,” उहाँले भन्नुभयोे, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”
राहुघाट जलविद्युत् आयोजनामा २०÷२० मेगावाट क्षमताका दुइटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झिँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।
कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युतगृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब एक सय ५० मिटर सडक पनि बगाएको छ । विद्युतगृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।
राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियट्सका सवारी साधन र उपकरणहरु पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रशारण लाइन मर्मतका लागि प्राबिधिक टोली परिचालन गरिएको बताउनुभयो ।
दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।
