
म्याग्दी, २२ असोज ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत कार्यका लागि प्रमुख चुनौति मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले दुई सय ५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वि शर्माले बुधबार कुनौटा भिरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिनुभयो ।
“बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि बेस सहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिड्नुपर्ने अवस्था थियो,” उहाँले भन्नुभयो “चार दिनको प्रयासमा कुनौटामा दुई तर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारी साधन सञ्चालन गर्न योग्य बनाउन थप एक÷दुई दिन लाग्न सक्छ ।”
बुधबार कुनौटामा दुई तर्फबाट छ वटा एक्साभेटर र त्यतीकै संख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटा बाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी हुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्षातपछिको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । असोज ८ देखि ११ गतेको झरिपछि कालीगण्डकीमा आएको बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ ।
मालढुङ्गा देखि कुनौटा, कोरला देखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठुला सवारी साधन सञ्चालन हुने गरि मर्मत भएको छ । पोखरेबगर देखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने र नयाँ मार्ग बनाएको ठाउँमा ग्रेड, घुम्ती मिलाउने, फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
पोखरेबगर पुलमा मजदुर र उपकरण परिचालन गरेर ग्यावीयन पर्खाल निर्माण गरि पुललाई सडकले जोड्ने संरचना तयार पार्ने काम भइरहेको छ । आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्ने लक्ष्य सहित उपकरण र मजदुर परिचालन गरिएको योजनाका प्राबिधिक बिनोद पौडेलले बताउनुभयो ।

सुरुवाती चरणमा रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौति थियो ।
राहुघाटको विद्युतगृह अगाडी सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयमसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन ब्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।
सडक विभाग र निर्माण ब्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा ट्रिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।
“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७३÷०७४ मा शुरु भएको यस आयोजनामा यसपालीको विपद्ले हालसम्मकै ठूलो क्षति पु¥याएको छ ।” रु. ८० करोड देखि ९० करोड क्षति पुगेको यो सडक पुननिर्माणका लागि रु. तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ ।
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
राजधानी काठमाडौ लगायतका सहरमा चिनबाट आयात गरिएका सामान बोकेर आउका पाँच सय वटा कन्टेनरहरु सडक मर्मत सकिदा बित्तिकै गन्तब्यतर्फ जानका लागि प्रतिक्षा गरिरहेका छन् । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।
