
म्याग्दी, ः यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई जना वेपत्ता भएको विपद्का कारण सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत, सञ्चार, सिचाई पूर्वाधार र निजी सम्पत्तीमा अर्बौको क्षति पुगेको विवरण सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा विपद्पछिको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्नुभएको थियो । “जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन्,” उहाँले भन्नुभयो “९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।”

प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक राजन कार्कीले पुर्वसर्तकता र सावधानीले मानवीय क्षति न्युनीकरण भएको बताउदै भौतिक क्षति भने अकल्पनिय रहेको बताउनुभयो । विपद्पछि खोज, उद्दार र राहतमा तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधी र संघ संस्थाहरु परिचालन भएका छन् ।

बाढीपहिरोका कारण नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको तथा तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी र बेगखोलालगायत ग्रामीण क्षेत्र अझै अन्धकारमा रहेका छन् ।
खोजी, उद्धारको चरणपछि राहत वितरण, विस्थापितको ब्यवस्थापन, क्षतिको विवरण संकलन कार्यलाई पूर्णता, अवरुद्ध सडक, विद्युत, सञ्चार र खानेपानी सूचारु गराउन केन्द्रित भएको प्रजिअ गैरेले बताउनुभयो ।
सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत तीन सयभन्दा बढी घरपरिवारलाई राहत सामग्री पु¥याइएको छ । विपद्का कारण जोखिममा परेका दुई जना गर्भवती तथा दुई जना गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी तत्काल अस्पताल पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई हाल स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ । पूर्णरुपमा घर क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवासका रुपमा बलिया टेन्टको व्यवस्था भइरहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार मर्मतको काम तीव्र पारिएको छ । हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्म सञ्चालनमा आएको प्रशासनले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ । अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा समेत थप भौगर्भिक अध्ययन गराउन पहल भइरहेको प्रशासनले जनाएको छ ।
विपद्बाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावितको जीवनलाई पुरानै अवस्थामा फर्काउन केन्द्रित हुने प्रजिअ गैरेले बताउनुभयो ।
