बेनी–जोमसोम–कोरला सडक मर्मत तिब्र

Gandaki Ghumau

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी हुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्षातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । १० ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वि शर्माले आगामी सोमबारसम्म सवारी साधन सञ्चालन गर्न सकिने गरि म्याग्दीको रघुगंगा गाउँपालिका–२ कुनौटा देखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दुरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिनुभयो ।

Shreekrishna

“बर्षात रोकिनेवित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानी सम्म दुई दिनमै मर्मत गरेका थियौ,” उहाँले भन्नुभयो “मालढुङ्गा तर्फबाट बेनी बैसरी हुदै कुनौटा सम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”

कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतिपूर्ण मानिएको छ । सुरुवाती चरणमा रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौति थियो ।

Gunasthariya Shiksya

राहुघाटको विद्युतगृह अगाडी सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयमसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन ब्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

“कुनौटा भन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौ,” आयोजना प्रमुख शर्माले भन्नुभयो, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटा भन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।”

अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् ।

सडक विभाग र निर्माण ब्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा ट्रिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उहाँले भन्नुभयो “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।” रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उहाँले बताउनुभयो । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...