
सन्तोष गौतम
म्याग्दी, ः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् ।
बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण शुरु भएसँगै खुम्चिन थालेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि उक्त सडक विस्तारका क्रममा सिर्जीत पहिरोबाट थप चपेटामा परेको थियो ।
यही असोज ८ देखि ११ गतेसम्मको चार दिने झरिपछि बस्ति माथिको राहुवडाको पाखोबाट खस्न थालेको पहिरोका कारण घर छाडेर धर्मशालाको आश्रम लिनुपर्ने अवस्था आएको स्थानीय इन्द्र बरुवालले बताउनुभयो ।

“हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तिलाई वि.स. २०५४ मा मार्ग खुलेको बेनी–गलेश्वर सडक पछिल्लो पटक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो,” उहाँले भन्नुभयो “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबास रहेको लेयर्स र ब्रोइलर कुखुरा, गाईभैसी र बाख्रापालनको हब बन्न थालेको जलेश्वरको उठिबास लगाएको छ ।”
चक्र बरुवाल, भूमिराज बरुवाल र सुर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्न नमिल्ने अवस्था छ । इन्द्र र चक्र बरुवालको तीन हजार दुई सय कुखुरा पाल्न सक्ने क्षमताको दुई वटा खोरभित्र पसेको पहिरोले एक हजार पाँच सय बिक्री गर्ने भएका ब्रोइलर कुखुरा नष्ट र भवन भत्काएर पूर्ण क्षति बनाएको छ ।
इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगेपनि बस्न मिल्ने अवस्था छैन् । घरभित्र पसेको हिलोले लत्ताकपडा, कागजात, भाडाकुडा, अन्नपात देखि बालबालिकाको कापीकिताब पनि नष्ट गरिदिएको छ । घरभरी पहिरो थुप्रिएपछि एक जनाले बेनी बजारभित्र डेरा खोजेर बस्न थालेका छन् ।

“बर्षौको मेहनत र संघर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पिडा भएको छ,” चक्र बरुवालले भन्नुभयो “पहिरोले हामीलाई घरबास मात्र नभएर रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्रि फार्मका सबै संरचना भत्काएर, पुरेर जिवन जिउने आधार पनि खोसीदिएको छ ।”

सुन्तला र केराका बगैचा पनि पहिरोमा पुरिएको छ । साँझ गलेश्वर धर्मशालामा गएर सुत्ने जलेश्वरबासी पाखोमा चिरा चिरा परेर धाजा फाटेको जमिनका कारण जुनसुकै समय थप पहिरो खस्ने जोखिम भएकाले घर फर्कने सम्भावना देखेका छैनन् । दिउँसो आएर घरभित्र पुरिएका सामान खोज्ने र सफा गर्ने जलेश्वरबासीको दिनचार्य बनेको छ । पहिरो जानुअघि उनिहरु कुखुरा, गाईभैसी र बाख्राको स्याहार सुसार, दानापान दिने काममा व्यस्त हुन्थे ।
बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन र दूध उत्पादन व्यवसाय फस्टाउँदै गएको थियो । फार्ममा क्षति पुगेकाले विस्थापित परिवारको आम्दानीको आधार गुमेको छ । व्यवसायिक भविष्य अन्योलमा पारेको छ ।
“हाम्रो घरमात्रै जोगाउने कुरा होइन,” मुक्ति बरुवालले भन्नुभयो, “पूरै बस्ती सुरक्षित हुने गरी योजना बनाउनुपर्छ । यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने ?” बस्तीको माथिल्लो भागबाट आउने पहिरो र तल्लो भागमा कालीगण्डकीको कटान नियन्त्रण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने बरुवालले बताउनुभयो ।
उनीहरूलाई तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको चिन्ता छ । कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय र माथिल्लो क्षेत्रबाट खस्ने पहिरोको जोखिमलाई एकीकृत रूपमा व्यवस्थापन नगरे जलेश्वरको समस्या तत्काल टर्ने नदेखिएको पहिरोको अध्ययनका लागि आइतबार जलेश्वरको निरिक्षण गर्नुभएका भुवर्गबिद् चम्पकबाबु शिलवालले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पछिल्लो बिपद्ले जिल्ला सदरमुकाम बेनी बजारको न्युरोड सहित पालिकाका धेरै बस्तिहरुलाई जोखिम र क्षति पु¥याएकाले भुगर्वबिद्हरुको टोली ल्याएर अध्ययन गरिएको बताउनुभयो । अध्ययन टोलीको सिफारिस र सुझाव अनुसार बजेटको स्रोत जुटाएर बस्ति संरक्षण, पुननिर्माण र पुनस्थापनाका योजना अघि बढाउने नगर प्रमुख केसीले बताउनुभयो ।
