बेनी र रघुगंगाको २६ वटा पहिरोको अध्ययन पछि भुगर्वविद्हरुको यस्तो आयो सुझाव

Gandaki Ghumau

म्याग्दी ः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भुवर्गविद्हरुको टोलीले २६ वटा पहिरोहरुको स्थलगत अध्ययन गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भुवर्गविद्हरुको टोलीले बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भुवर्गविद्हरुको प्राविधिक टोलीले बेनीका २२ र रघुगंगा गाउँपालिकाका चार ठाउँका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरु समेतको उपस्थितिमा छ जना भुवर्गविद्हरुले तीन वटा समूह बनाएर अध्ययन गरेका थिए ।

Shreekrishna

बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लिहिल, हाडेभिर, तल्लो मुुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिंगा तातोपानी, आगेबगर, अर्थुङ्गे अधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसौना, रघुगंगा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष खतिवडा, भुवर्गविद् डा. चम्पक बाबु सिलवाल, दिपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री, मिरा जिसी, बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, बिजय नारायण मण्डल, जिल्ला समन्वय समितिका इञ्जियिर सुमन सुवेदीको टोलीले पहिरोहरुको अध्ययन गरेको हो ।

पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट परिक्षणका लागि ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरीएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो ।

Gunasthariya Shiksya

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो ।

पछिल्लो पटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुन सक्ने, त्यसमाथी पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालिन र दिर्घकालिन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिनुभयो ।

“पहिरोको नियमित अनुगमन र आकारको मापन गरि अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित ब्यवस्थापन देखि धाजा फाटेको जमिनलाई थप चर्कीन र पानी पस्न नदिन अल्पकालिन उपाय अपनाउन सुझाव दिएका छौ,” उहाँले भन्नुभयो “दिर्घकालिन रुपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने काम सहितको विस्तृत प्रतिवेदन तयार पारेर छिट्टै उपलब्ध गराउछौ ।” पहिरोको जोखिममा रहेका बेनी बजारको न्युरोडका घरमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन टोलिले सुझाव दिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्म चार दिन लगातारको भिषण बर्षाका कारण भिरालो पाखाको जमिन गल्किएको, सडकको भल ब्यवस्थापन नभएको, अब्यवस्थित विकास निर्माण, भूमिगत पानीको सुरक्षित ब्यवस्थापन नहुन लगायतका कारण पहिरो सिर्जना भएको अध्ययन टोलीको निष्कर्ष छ ।

गत हप्ताको झरिपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना वेपत्ता, दुई सय भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले एक सय ११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र तीन सय ४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उहाँले बताउनुभयो । बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...